चार महिनामा ७२ जनाद्वारा आत्महत्या

महेन्द्रनगर। कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनको अवधिमा कञ्चनपुरमा ७२ जनाले आत्महत्या गरेका छन्। चैत दोस्रो सातादेखि हालसम्म कञ्चनपुरमा ३९ पुरुष र ३३ महिलाले आत्महत्या गरेका छन्।

लकडाउनमा आत्महत्या, घरेलु तथा महिला हिंसा र लैङ्गिक हिंसाका घटना बढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। ‘विष सेवन र झुण्डिएर आत्महत्या गर्नेका संख्या बढी पाइयो’ उनले भने। यो संख्या अरु बेलाको भन्दा बढी हो। वैशाख र जेठमा आत्महत्या दुरुत्साहनका दुई मुद्दा दर्ता भएका थिए।

विष सेवन गरेर चैत महिनायता ३२ जनाले तथा झुण्डिएर ४० जनाले आत्महत्या गरेका थिए। लकडाउनमा बेरोजगारीलगायत समस्याले हिंसाका घटना बढेको पाइएको छ। लकडाउन अवधिमै आत्महत्या दुरुत्साहन मुद्दामा एक जना पूर्पक्षका लागि कारागार चलान हुनुका साथै एक जना तारेखमा छुटेका छन्।

अन्य सम्बन्धित समाचार:  अटो पल्टिँदा चालकको मृत्यु