ओली रामायण – मुख्य पात्र आसेपासे हनुमान गण

  • बिष्णु प्रसाद जोशी

आउनुहोस् म तपाईँलाई एउटा कथा सुनाउँछु:
एकादेशमा एउटा ग्रामीण भेगमा बस्ने किसान थिए। एक वर्ष उनको खेती साह्रै सङ्कटमा पर्‍यो। पहिले खडेरी पर्यो, ढिलो गरी बर्षा भयो तर समयमा मल पाईएन, त्यही साल सलह आए, बाढी पहिरोले भएको खेत पनि गुम्यो।

सरकारबाट केही सुनुवाइ नहुँदा केही किसानले आत्महत्या गरेको समाचार आउँदै गर्दा ती किसान आफ्नो आत्मसंयम जारी राखी मेहनत गर्दै थिए।

तर एक दिन घरमा सबै अनाज सकियो। छोरा-छोरी साँझपख भोक लाग्यो भनेर रुन कराउन लागे। किसानले त्यो दिन पानी पिए भोक मेटिन्छ भनेर एकछिन त शान्त पारे। भोकले बेहाल छोराछोरी लाई त्यो रात उनले कथामा भुल्याई सुताउने सोँच बनाए अनि सोधे, “आज भगवान् श्री रामको जन्म कथा सुनाऊ कि बजरंग बली हनुमानजीको ?”

केटाकेटीले भने, “बा हामीलाई रोटीको कथा सुनाउनुस् !

हो, आज जनता रामको जन्मभूमि भन्दा पनि राम प्रसाद, राम बहादुरले गरी खाने कर्मभूमिको खोजीमा छन्। रोटी र रोजगारीको चिन्ता ठूलो छ। भोको पेटले राम भजन कहिलेसम्म गाउने?
ठ्याक्कै माथिको कथाजस्तै आज देशका जनताहरु भनिरहेका छन्, “ओलीबा, हामीलाई रोटीको कथा सुनाउनुस्।”

पहिरोले पहाड नै खसेर सिंगो गाउँ पुरिँदै गर्दा हनुमानले कुन पर्वत उचाले भन्ने कुराले महत्त्व राख्दैन।सीता माता कुन जङ्गलको गुफामा बसिन् भन्दा पनि गुफामा बस्न बाध्य हाम्रा पहिरो पीडित र सुकुम्वासीलाई आवासको व्यवस्था गर्ने कुराले महत्व राख्छ। हनुमानले लङ्का जलाए झैँ मध्यरातमा अल्प सङ्ख्यक जनजातिको बस्तीलाई जलाउनु साटो बरु व्यवस्थित गर्ने कुराले महत्व राख्छ।

कमरेडहरूले बोलीमा भौतिकवादी भने पनि व्यवहारमा सधैँ पौराणिक कथा दोहोर्‍याई रहन्छन्। जनताको पेट उखान-टुक्का र पौराणिक कथाले भरिँदैन। माफ गर्नुहोस् प्रधानमन्त्रीज्यू, भोको पेटले म तपाईँसँग राम भजन गरी बस्न सक्दिन। महाव्याधि र प्राकृतिक प्रकोपबाट बाँचे कुनै दिन तपाईँसँगै राम-राम जपूँला ? अहिलेलाई म पापी नै सही तर मलाई राम जन्म कथा हैन रोटीकै कथा सुनाउनुहोस् ! चाणक्यले भनेझैँ: वुभुक्षितः किं न करोति पापं क्षीणा जनाः अर्थात् भोकालाई के पाप के धर्म?

भनिन्छ, मानिस चार विशेष परिस्थितिहरूमा ईश्वरको स्मरण गर्दछ र अध्यात्मतर्फ लाग्छ- आर्थी,अर्थार्थी, जिज्ञासु र ज्ञानी।

आर्थी त्यो हो, जो रोग-व्याधिको प्रकोपमा या दु:ख-पीडामा प्रताडित भइरहेको हुन्छ। हो, दु:खीलाई सहारा र आस्थाको बढि आवश्यकता महसूस हुन्छ। प्राय: सबै धर्मका धर्मग्रन्थहरूमा ईश्वरलाई सङ्कटमोचन अर्थात् अनाथहरूको नाथको रूपमा वर्णन गरिएको हुन्छ। त्यसैले त आज यो महाव्याधिमा सबै नेपालीको मुखमा अब बचाए पशुपतिनाथले नै बचाउन् भनेको सुनिन्छ ! सरकारबाट त कुनै आशै छैन।

अर्थार्थी चाहिँ विष्णु या ईश्वर सबैलाई नचाहिए पनि लक्ष्मी नचाहिने को होला भनेर प्रश्न राख्छन्। धर्म, अर्थ, काम र मोक्षलाई नै शास्त्रहरूमा जीवनका चार पुरुषार्थ मानिएको छ। तर भ्रष्टाचार र कालो बजारीले कमाएको धनले सम्पन्नता त देला तर मनको शान्ति दिँदैन, मोक्ष दिँदैन भनिएको छ। चारै पुरुषार्थ धर्मपूर्वकको हुनुपर्छ, नत्र त्यो पुरुषार्थ होइन अधमगतिको मार्ग बताइएको छ।

तेस्रो जिज्ञासुमा म को हुँ? सांसारिक पीडाबाट मुक्त भई ‘सदा खुशी रहने बाटो कुन होला’ भन्नेजस्ता जिज्ञासा र प्रश्नहरू आफूले आफैलाई गर्न थाल्छन्। “वादे वादे जायते तत्त्व बोध:” अर्थात् छलफल र विचार बिमर्शबाट तत्त्वबोध हुन थाल्छ।

वैज्ञानिक विधिको (Scientific Method) पहिलो सोपान पनि प्रश्न गर्नु नै हो। कुनै शोधको निष्कर्ष साझा गर्न कुनै प्राकृतिक घटनाको (Phenomena) अवलोकन पश्चात नै त्यो घटनाको पछाडि रहेको कारण पत्ता लगाउन केही प्रस्तावित प्रश्नहरूको परिकल्पना (Hypothesis) गरिन्छ। त्यसपछि त्यो परिकल्पनाको परीक्षण (Experiment) गर्न तथ्याङ्कको विश्लेषण (Data Analysis) गरेर अन्तिम निष्कर्ष निकालिन्छ।

तर नेपालमा वैज्ञानिक विधिको समेत खिल्ली उडाएर राष्ट्र प्रमुखले नै कहिले कोरोना भाइरस लाई निर्जीव भन्छन् त कहिले ठोस आधारबिना बेसार पानीले ठिक गर्छ भन्छन्।

चौथो ज्ञानी, जब कोही कुनै विधामा पारङ्गत हासिल गर्छ त्यसपछि उसले हरेक प्राकृतिक घटना पछाडिको कारण एउटै एकीकृत शक्तिलाई देख्छ। यसलाई भौतिक शास्त्रका वैज्ञानिकहरूले स्ट्रिंग सिद्धान्त अर्थात् क्वान्टम् भौतिकशास्त्र तथा साधारण सापेक्षतावादको एकीकरणको प्रयास भनी व्याख्या गर्छन्। यो महा-एकीकृत सिद्धान्तको (Theory of Everything) सबैभन्दा प्रबल दाबेदार सिद्धान्त हो, जो सबै मूलभूत कणहरू (Fundamental Particles) र ऊर्जाको (Energy) गणितीय व्याख्या गर्ने सामर्थ्य राख्छ।

गहन अध्यात्मका साधकहरू विविधतामा एकता देख्नुलाई ज्ञान भन्छन् अर्थात् अद्वैत ज्ञान। अनि जस्तो दृष्टि त्यस्तै सृष्टि देख्न थालिन्छ भन्ने उनीहरूको मान्यता छ। महानारायण उपनिषदको १३ औँ अध्यायको छैठौँ श्लोकमा भनिएको छ- अन्त: बहिश्च तत् सर्वंव्याप्यं नारायण: स्थितः अर्थात् सबै वस्तुमा भित्र र बाहिर नारायण विद्यमान छन्। ईश्वर त घट-घटमा छन्। आफैँभित्र विद्यमान आत्मारामको साक्षात्कार नगरेसम्म राम कहाँ जन्मिए भन्ने कुरामा विवाद गरेर कोही ज्ञानी हुँदैन।

दुर्भाग्यवश नेपालमा नेताहरू केवल अर्थार्थी र स्वघोषित ज्ञानी भए अनि जनता आर्थी बनी रहे। अब जनता जिज्ञासु हुने बेला आयो, अब हामीले प्रश्न गर्नैपर्ने बेला आयो।

प्रश्न गर्नैपर्छ अब हामीले कि आफैलाई कम्युनिष्ट र समाजवाद उन्मुख भन्नेहरूको सरकार हुँदा कसरी स्वास्थ्यमा राज्यको स्वामित्व भई सर्वहारा जनताको समान अधिकार पाउनुको साटो केही व्यापारी र बिचौलियाहरूको मात्रै लगानी प्रेरित गरिँदै छ? किन सरकारले कोरोना परीक्षण र उपचारको दायरा घटाउँछ अनि नीजि अस्पतालहरु लाखौँ असुल्दै छन्? किन चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षा उपकरण र विशेष बिमाको व्यवस्था गरिएन? आसे-पासेको भनसुन मात्रै सुन्ने कि पुकार र ई को अनसन को पुकार पनि सुन्ने?

जबसम्म जनता यी आधारभूत प्रश्न गर्दैनन् कैयौँ गोविन्द के.सी.का अनसन खेर जाने छन्। हरेक नेतालाई सोधौँ कि कुनै वैध आम्दानीको स्रोत नभएर पनि केही वर्षमै तिनका काठमान्डौमा महल कसरी बने?

के छ नेताज्यू आजकल तिम्रो हाल-खबर ?
भोट दिने त गाउँमै छुटे, तिमी पस्यौ सहर
जनताबाट सिंहदरबार भयो टाढा टाढा
कैले आउँछ तिमीलाई, रुकुम-रोल्पा नजर ?

भनिन्छ धर्मो रक्षति रक्षितः अर्थात् धर्मले तिनको रक्षा गर्छ जो आफ्नो धर्मको निर्वाह गर्छन्। सरकारको पहिलो धर्म जनताको मर्म बुझ्नु हो। विपदमा परेका जनताका लागि राहतको आभास हुने योजना कार्यान्वयन नभएसम्म राम कहाँ जन्मिए भन्ने मूख्य प्रश्न हैन।

खोक्रो राष्ट्रवादी धर्म,
आसे-पासेलाई मात्रै पोस्ने
दलाल पुँजीवादी कर्म,
अनि कसले बुझ्ने जनताको मर्म?

एक छिनलाई मानिदिऊँ राम अहिलेको भौगोलिक नेपालकै सीमाभित्र जन्मिए। के यो प्रमाणित गर्दैमा नेपालमा ‘रामराज्य’ आउँछ? के हाम्रा नेता हरेक जनताको चुलो नजल्दासम्म आफैँ खाना खान छोड्लान्? रामले त आफ्नो बुवाको वचन राख्न राजगद्दी समेत त्यागेका थिए तर हाम्रा नेताहरू बाली-सुग्रीवले जस्तै सत्ताको लागि हानथाप मात्रै गर्छन्। अनि कार्यकर्ता पनि अंगद, हनुमान र जाम्वावंतझैं तिनै बाली सुग्रीवकै ध्वजा समात्छन्। नाम रामको काम चाहिँ राम सेनाको जस्तो! पार्टीभित्र सधैँ रामलीला, संसद्मा भारत विरोधी महाभारत!

मेरी आमाले मलाई बचपनमा एकश्लोकी रामायण सुनाउनु हुन्थ्यो, “आदौ राम तपोवनादि गमनम, हत्वा मृग: कांचनम्।
वैदेही हरणं, जटायु मरणं, सुग्रीब संभाषणं।
बाली निर्दलं,समुन्द्र तरणं, लंकापुरी दहनं।
पश्चाद्रवन, कुम्भकरण हननं।एतध्दी रामायणं।”

आज मलाई एकश्लोकी ओली रामायण लेख्न मन लाग्यो,

“आदौ प्रचण्ड रोल्पा वनादि गमनम् हत्वा सप्तदश सहस्र निर्दोषं
प्रजातन्त्र हरणं, राजतन्त्र मरणं, गिरिजादी संभाषणं।
जनसेना निर्दलं, केपी-प्रचण्ड बलं, विष्णु, सूर्यादि गण महाबलं।
आसे-पासे पोषणम् जनता पिडनम् एतध्दी ओली रामायणं।”

खप्तडछान्ना-५, (पिठातोला), बझाङ
हाल: विद्यावारिधि (रसायनशास्त्र)
युनिभर्सिटी अफ म्यसाचुसेट्स, अमेरिका