एउटा “उखान”को अन्त्य  

रुपक रिसाल, ललितपुर।

आफ्नै उत्तर पश्चिमी इलाकाको चिर परिचित प्रतिद्वन्दीले बाइस वर्षमा तेह्रपल्टसम्म लिग विजेता बनिसक्दा समर्थकहरु टुलुटुलु हेरिरहन बाध्य थिए। हुन पनि गत सिजन र विगतका दुइ सिजन झण्डै आफ्नो नाकै मुनिबाट विभिन्न प्रतिद्वन्दी टोलिले उपाधि चुम्दा मुर्मुराउँदै बस्न बाध्य आफ्नो प्यारो क्लवका फ्यानहरुको तिर्खा तिस वर्ष पछि बल्ल मेटियो।

युरोपेली फुटबल संघले स्पेनिस ला लिगालाई वरियतामा सर्वोच्च स्थानमा राखेपनि संसारभरिका फुटबलप्रेमीहरुको वरियतामा भने इंग्लिश प्रिमियर लिगले शीर्ष स्थान ओगटेको छ। टेलिभिजनमा प्रिमियर लिगका खेलको दर्शक संख्या विश्वब्यापि रुपमा सवैभन्दा बढि हुनु, संसारभरिका देशहरुमा उक्त लिगका धेरै क्लवहरुको फ्यान क्लवहरु हुनु आदि यसका प्रमाणहरु हुन्।तसर्थ अन्य लिग भन्दा इंग्लिश प्रिमियर लिग यो वर्ष कुन क्लवले जित्ने छ भन्नेमा बढि फुटवलका समर्थकहरुको चासो रहन्छ।

७ मार्चमा २९ औं चरणका खेलहरुको समाप्ति पछि लिभरपुलले इंग्लिश प्रिमियर लिगमा २५ अंकको अग्रता लिइसकेको थियो। र निकटतम प्रतिद्वन्दी र साविक विजेता म्यान्चेस्टर सिटिबाहेक अरु कुनै क्लवले पनि लिभरपुलको उपाधि खोस्न सक्ने अवस्था थिएन।

उपाधि सुनिश्चित गर्न मात्र दुई खेल जिते पुग्ने थियो। लिभरपुलले एक पछि अर्को खेल जित्दै गर्दा अमेरिका र चीन बिच विवाद चुलिँदै थियो। यहाँसम्म कि लिभरपुलले लिग नजितोस् भनेर प्रतिद्वन्दी क्लवका समर्थकहरुले तृतिय विश्वयुद्धको कामना गर्न थालेका थिए। लिग स्थगित होला भन्ने आसमा। त्यो कामना ब्यंगमा सिमित रहेपनि कोभिड १९ महामारीले गर्दाभने प्रिमियर लिग बाँकी खेलहरु खेल्न नपाउँदै अनिश्चित कालका लागि स्थगित हुन गयो।

अन्य सम्बन्धित समाचार:  संसद्मा प्रधानमन्त्री ओलीले सबै प्रस्तावको सामना गर्ने, अल्पमतमा परे ह्वीप!

लिभरपुलका समर्थकहरु गहिरो आघातको संभावना देख्न थाले। लगभग निश्चित भैसकेको जीतबाट उसलाई विमुख पार्न महामारीको कारण देखाइ लिग नै रद्द गर्नुपर्ने आवाज प्रतिद्वन्दी क्लवका समर्थक लगायतले उठाउन थाले। मार्च २४ मा इएसपिएनलाई अन्तर्वार्ता दिदै म्यानचेस्टर युनाइटेडका भूतपूर्व रक्षक तथा कप्तान रियो फर्डिनाण्डले त खुलेरै लिग रद्द गर्नुपर्छ भने।

यद्यपि कोरोना महामारीका बिच जव जर्मन लिग र फ्रेन्च लिग दर्शक विनाका रंगशालाहरुमा पुनः सुरु गरियो, आफूलाई कोपाइट्स भन्न रुचाउने र विश्व फुटबलमा “द रेड्स” नामले चिनिने लिभरपुल समर्थकहरुलाई भने झिनो आशा पलायो। 

र, गए राती आफ्नो गृहमैदानमा चेल्सीसंगको खेल पछि लिभरपुलले इंग्लिश फुटबलको सर्वोच्च उपाधि १९ औ पटक उचालेको छ। सन् १९९२ देखि प्रिमियर लिग नामाकरण गरिएको यस उपाधि ऐतिहासिक यस अर्थमा छ कि लिभरपुलको यो प्रिमियर लिगमाथिको पहिलो जीत हो।

युरोपेली क्लब प्रतियोगिताको इतिहासमै सबैभन्दा सफल इंग्लिश क्लव तिसवर्षसम्म घरेलु सर्वोच्च उपाधिबाट बञ्चित रहनु क्लब समर्थकहरुको लागि अवश्यनै दिक्दारीको विषय थियो। सँधै शीर्ष स्थान नजिकै पुगेर लिग सकाउने, तीन पल्ट उपविजेता बन्ने र प्रायशः च्याम्पियन्स लिग खेल्ने भएपनि लिभरपुलको स्थान प्रिमियर लिगमा ब्ल्याकबर्न, लेस्टर जस्ता मौसमी क्लवहरुको जति पनि उँचो थिएन। किनकि ती दुइले लिग उपाधि एक एक पल्ट भएपनि जितिसकेका थिए।

संसारभरिका लिभरपुल क्लब समर्थकहरुको लागि अंग्रेजी आहान अनुसार अव बाँदर ढाडबाट खसेर पछारिएको छ। अर्थात घरमा र युरोपमा पनि ठुला क्लवहरुमा गनिने लिभरपुललाई अव बाँदर ढाडमा बस्दा हुनेजस्तो “प्रिमियम लिग नजितेको क्लव” भनेर गिज्याउँदै तनाव दिइने छैन।

सन् २००९ मा नतमस्तक भएको र २०१४ चिप्लेर उपाधि गुमेको पनि अव समर्थकहरुले विर्सने छन्। कोभिड १९ का कारण गएराती खाली रंगशालामा कप्तान जोर्डन हेन्डरसनले उपाधि उचाल्दा बैंकक देखि बोस्टन सम्म र काठमाडौं देखि कायरोसम्मका लिभरपुल समर्थकहरुको मन भने खुसीले भरिएको थियो। त्यसैले त हिजो राती उपाधि उचाल्दा क्लव ब्यवस्थापक योर्गेन क्लोपले भने, “हामीले यो ट्रफी फ्यानको लागि जितेका हौं”।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै

“नेक्स्ट इएर इज आवर इएर” अर्थात “अर्को वर्ष हाम्रो हो“।

उपाधिको नजिक पुगेर विमुख भइरहँदा लिभरपुल समर्थकहरुको माथि उल्लिखित नारालाई प्रतिद्वन्दि क्लव समर्थकहरुले उखान बनाएर जिस्काउन प्रयोग गर्दथे। लिग सकिनु सात खेल अगावै विजेता सुनिश्चित भएपनि २२ जुलाईमा लिग ट्रफी उचालेपछि भने यस “उखान” को आधिकारिक रुपमा अन्त्य भएको छ।