अनियमितताको आरोपमा भेरी अस्पतालमा अख्तियारको छापा



क्षेत्रनाथ देवकोटा, बाँके।

कोरोनाको परीक्षण प्रयोगशाला समेत रहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा अख्तियारले छापा मारेको छ। त्यस क्रममा अस्पतालका कम्प्युटर अप्रेटर अरुणराज खनाललाई १६ लाख १३ हजार ९७५ रुपैयाँसहित पक्राउ गरिरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले जनाएका छन्।

अप्रेटर खनालले विभिन्न पक्षसंग कमिसन वापत रकम लिँदै गर्दा पक्राउ गरिएको बुझिएको छ। स्रोत नखुलेको रकमसहित उनलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। यसअघि अस्पतालमा ल्याइएको कोरोना भाइरस परीक्षण उपकरणमा आर्थिक चलखेल भएको भन्दै अस्पतालविरुद्ध उजुरी दर्ता भएको थियो। उजुरी दर्तापछि अख्तियारले प्रारम्भिक अनुसन्धान गर्ने क्रममा अख्तियारलाई उपलब्ध गराएको कागजपत्र सन्तोषजनक नदेखिएपछि थप अनुसन्धानका लागि छापा मार्न परेको अख्तियारले जनाएको छ।

गत असार ४ गते भेरी अस्पतालमाथि प्रारम्भिक छानविन शुरु भएको अख्तियार दुरुपयोग अनुसन्धान नेपालगञ्जमा कार्यरत सूचना अधिकारी लोकमणी पाण्डेले बताए। उनले भने, ‘अस्पतालले अख्तियारलाई उपलब्ध गराएको कागजात हेर्दा छानविन टोलीको चित्त बुझ्दो सुझाव नआएका कारण बिहीबार थप अनुसन्धानका लागि छापा मारेका हौं।’

अन्य सम्बन्धित समाचार:  लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा भट्ट

थप अनुसन्धानका लागि आवश्यक कागजपत्र माग गरिएको छ। ‘उक्त कागजपत्रमाथि विशेष छानविन गरिनेछ,’ सूचना अधिकारी पाण्डेले भने, ‘अनुसन्धानका क्रममा दोषी फेला परे तत्कालै कानूनी कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर हुन्छ।’ कोरोना भाइरस टेस्ट गर्ने मेशिन लगायत मेडिकल उपकरण खरिदमा अनियमितता भएको भन्दै उजुरी परेको थियो।

उनका अनुसार बायो मेडिकल ईक्वीपमेन्ट लगायतका मेडिकल उपकरण र औजारहरू टेण्डरबिनै खरिद गरी आर्थिक चलखेल र अनियमितता गरेको भन्दै अस्पतालविरूद्ध अख्तियारमा असार पहिलो साता उजुरी दर्ता भएको थियो। कोभिड–१९ को निहुँमा अस्पतालले खरिद गरेका उपकरण तथा औजारहरू सरकारको खरिद ऐन तथा नियमावली विपरित रहेको देखिएको छ।

अख्तियारमा उजुरी दर्ता भएपछि भेरी अस्पतालसँग उक्त उजुरीका बारे स्पष्टिकरण सोधिएको अख्तियारका सूचना अधिकारी पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार अख्तियारमा उजुरी परेपछि अस्पताललाई ७ दिनको म्याद दिएर बायो मेडिकल ईकुपमेन्ट लगायतका सामाग्री खरिदका कागजजात, रसिद, टेण्डर आव्हानको प्रक्रियासँग खरिद प्रक्रियाबारे स्पष्ट लिखित जवाफ पठाउन माग गरिएको थियो।

अन्य सम्बन्धित समाचार:  काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

भेरी अस्पतालमा कोरानाको टेष्टका तथा अन्य प्रयोजनका लागि करोड बढीको मेडिकल उपकरण खरिद गरेको थियो। भेरी अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डाक्टर प्रकाशबहादुर थापाले उजुरी परेको स्वीकार्दै अख्तियारले छानबिन गरिरहेको र अस्पतालले अख्तियारमा परेको उजुरीमाथि छानबिनका लागि सहयोग पनि गरेको बताएका छन्।