अर्कै केटालाई मन पराएको भन्दै युवतीमाथि एसिड

काठमाडौँ। आफुलाई छोडेर अर्कै केटालाई मन पराएको भन्दै सीतापाइलामा बिहीबार राति एक युवतीमाथि एसिड छ्यापेको खुलेको छ। बिहीबार साँझ डेराबाट दही किन्न निस्किएकी ओखलढुङ्गा घर भएकी युवतीमाथि एसिड छ्याप्ने भारतीय नागरिक मुन्ना मोहम्मदले आफुले मोहम्मद आलमको निर्देशनमा उक्त काम गरेको प्रहरीलाई बयान दिएका छन्।

आलम कालिगढ हुन् भने मुन्ना उनका कामदार रहेको खुलेको छ। दुवै जना डल्लुमा बस्दै आएका छन्। आलमको घर रौतहटको लक्ष्मीपुर हो। मोटरसाइकलमा सवार दुवै जना ती युवतीको बाटो ढुकेर बसेका थिए। युवतीलाई देखेपछि आलमले मुन्नालाई एसिड छ्याप्न लगाएका थिए। त्यसपछि दुवै जना मोटरसाइकल चढेर डल्लुतर्फ भागेका थिए।

आलमले ती युवतीलाई मन पराएको मुन्नाले बयान दिएका छन्। तर ती युवतीले अर्कै केटालाई मन पराएको आलमले थाहा पाएपछि उनले युवतीमाथि एसिड छयाप्न मुन्नालाई प्रयोग गरेको खुलेको छ। ‘मैले आलमको निर्देशनमा एसिड छयापेको हुँ’ मुन्नाले प्रहरीसितको बयानमा भनेका छन्। बोतलमा एसिड भएको आफुलाई थाहा नभएको मुन्नाको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  झापा र मोरङ जाँदै प्रधानमन्त्री ओली

‘युवतीलाई छयापेपछि मेरो हात पनि जल्यो, अनि मात्र एसिड रहेछ भन्ने थाहा पाए’ मुन्नाले दिएको बयानबारे प्रहरी श्रोतले भन्यो। घटनाको वास्तविकताबारे प्रहरीले आलम र युवतीको बयान लिएपछि मात्र पत्ता लाग्नेछ। युवतीको कीर्तिपुरस्थित एउटा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले सिसिटिभीको सहयोगमा दुवै जनालाई पक्राउ गरेको हो।

आलमले मुन्नालाई बिहीबार राति नै भारततर्फ भाग्न सल्लाह दिएको खुलेको छ। आलमले अभियोग स्वीकारेका छन्। पीडित युवतीले आलमसित आफ्नो प्रेम सम्बन्ध नरहेको बताएकी छिन्। ती युवती र आलमको एउटा क्यासिनोमा काम गरेका बेला चिनजान भएको बताइएको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले घटनाबारे अनुसन्धान भइरहेको बताए।

https://www.facebook.com/nepalipatrikaofficial/videos/2352755838367183/