रञ्जन कोइराला प्रकरण : न्यायाधीशविरुद्ध महाभियोगको माग

काठमाडौँ। सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले आधाभन्दा बढी समय सजाय छुट दिएर जेलमुक्त गरेपछि यसको सर्वत्र विरोध भएको छ। श्रीमती गीता ढकालको हत्या कसुरमा जिल्ला र उच्च अदालतले कोइरालाविरुद्ध सर्वस्वसहित जन्मकैद (२० वर्ष) जेल सजाय तोकेका थिए।

गत असार १५ गते सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साढे ११ वर्ष जेल सजाय छुट दिएपछि कोइराला बिहीबार जेलमुक्त भएका थिए। कोइरालालाई जन्मकैदको सजाय घटाएर प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले ८ वर्ष ६ महिनामा झारेका हुन्।

यसविरुद्ध पुनरावलोकनको माग गर्दै सरकारका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको छ। राजनीतिक दल र सर्वसाधारणले सजाय छुटको विरोध गरेका छन्। सर्वसाधारणले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्। उनीहरुले प्रधानन्यायाधीशको नियतमाथि प्रश्न गर्दै उनलाई महाअभियोग लगाउन माग गरेका छन्।

अन्य सम्बन्धित समाचार:  सरकारले गर्‍यो विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले ट्विट गर्दै कोइरालालाई सजाय छुट दिने न्यायाधीशविरुद्ध महाभियोग लगाउन माग गरेका छन्।