न्युयोर्कमा कोरोनाबाट ज्यान गुमाएका मल्लका छोरीहरुका लागि सहयोग हस्तान्तरण

न्युयोर्क। विश्व महामारी कोभिड-१९ को कारणले गत अप्रिल १४ मा न्युयोर्कमा ज्यान गुमाएका काठमाण्डौका स्व. पवन मल्लका दुई आश्रित छोरीहरुको शिक्षा दीक्षाका लागि गोफण्डमी मार्फत संकलन भएको ८२९० डलर छोरीहरुकै ईच्छा बमोजिम न्युयोर्कस्थित छोरीहरुका कानूनी अभिभावक पद्मा प्रधान मल्ललाई हस्तान्तरण गरिएको छ।

कोरोनाको महामारीमा परेर आफ्नो बुबाको मृत्यु भए लगत्तै बेसहारा भएका छोरीहरुको नाममा साथी सरगम भट्टराई तथा विजय ज्ञवालीले सो गोफ़ण्डमी सुरु गरेका थिए। सो अभियानको न्युयोर्कस्थित संस्था दर्शन ठकुरी समाजले अभिभावकत्व लिएको थियो भने नेपाल पत्रिका डटकमले पनि विशेष सहयोग गरेको थियो।

न्युयोर्कमा त्यो बेला अत्यन्तै भयावह परिस्थिति भए पनि बिभिन्न ३०४ जना मनकारी दाताहरुले दान गरेको ८२९० डलर मध्ये गोफण्डमीको सेवा शुल्कपश्चात प्राप्त भएको ७९५६.५० डलरको चेक दर्शन ठकुरी समाज न्युयोर्कका अध्यक्ष मिलन कुमार शाही र अभियन्ता सरगम भट्टराईले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए।

अन्य सम्बन्धित समाचार:  मुखमा रक्सीको बोतल कोचेर एकल महिलामाथि सामुहिक बलात्कार

मृतक मल्लको अन्त्येष्टि लगायतका कार्यमा मेरिल्याण्ड बिधान सभा सदस्य ह्यारी भण्डारीले उल्लेख्य सहयोग गरेका थिए। त्यसैगरी सञ्जय थापा, आनन्द बिष्ट लगायतका सामाजिक ब्यक्तित्वहरुको पनि सामाजिक तथा कानुनी परामर्शको लागि सहयोग रहेको थियो।