चितवन। चितवनमा नेपाली सेनाको कुटपिटबाट एक युवकको ज्यान गएको छ। चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको कुटपिटबाट राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो।
सेनाको कुटाइबाट सख्त घाइते चेपाङको बिहीबार भरतपुर अस्पतालमा मृत्यु भएको खुलेको छ। राजकुमारको मृत्यु भएपछि उनका बुवा विष्णुलालले घटनाको छानबिन तथा दोषीलाई कारवाहीको माग गरेका छन्। सेनाको कुटाइबाट सख्त घाइते भएपछि राजकुमार लामो समय घरमै थन्किएका थिए। चेपाङ साउन १ गते आफ्ना सात साथिहरुसित घोँगी र न्यूरो टिप्न निकुञ्जमा गएका थिए।
सेनाले निकुञ्ज क्षेत्रमा प्रवेश गरेको पाएपछि उनीहरुलाई कुटपिट गरेको थियो। उनीहरुलाई सेनाले त्यही दिन छाडेको थियो । घर फर्केपछि चेपाङ बिरामी परेका थिए। निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको बटुक दल गणका प्रमुख अरुण श्रेष्ठले चेपाङलगायतलाई सेनाले नियन्त्रणमा लिए पनि कुटपिट नगरिएको बताए।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले घटनाबारे थाहा पाएको र निकुञ्ज प्रशासनसँग थप जानकारी लिने काम भइरहेको बताए। चेपाङको शव भरतपुर अस्पतालमा राखिएको छ। उनको शव परीक्षण गरिएको छैन।