कृष्णको मुटुमा गडेको किला…



 

सुवास आचार्य, बाग्लुङ ।

विकासको नाममा गाउँघरमा धेरैले पीडा पाएका छन्। सडक बनेपछि सुखका दिन फिर्लान् भन्ने जनताको आशा त्यतिखेर निराशामा परिणत हुन्छ जतिखेर सडकले सुविधा भन्दा सास्ती धेरै दिन्छ।

बाग्लुङमा एक अशक्त दम्पती सडक विकासको क्रममा बस्दै आएको घरबाटै विस्थापित हुने अवस्थामा पुगेका छन्। जसले हुँदा रहँदाको घरै छोडेर हिड्‌न पर्ने अवस्था आएको छ।

भन्नलाई जनप्रतिनिधिहरूको एउटै स्वर हुन्छ। विकासको नाममा जनताको उठिबास गर्ने छैनौ। तर व्यवहारमा त्यो कुरा लागू हुन सकेको भए यो समाचार बन्ने नै थिएन।

बाटो बनाउने क्रममा डोजर चलाउँदा टाउको लुकाउन पुग्ने आफ्नो घर छोडेर हिड्‌न पर्यो बाग्लुङ नगरपालिका ३ भलाटाकुराका कृष्ण सार्कीलाई।

बस्दै आएको घरको पछिल्लो अवस्थाले निराशाको पहाड बोकेर दुखको सुस्केरा हाल्दै आएका छन् कृष्ण हरेक दिन।

अन्य सम्बन्धित समाचार:  जिउँदो हुने विश्वासमा पाँच दिनसम्म पाष्टरको घरमा शव

जो आफै पनि अशक्त त छदैछन्। जसलाई श्रीमती असरीको सहाराले दैनिकी चलाउन पर्छ।

सडक बिस्तारको क्रममा कृष्णको प्राण भन्दा प्यारो घरलाई विकासको ठेक्का लिएकाहरूले चर्काइदिए।  ‘बाटो बनाउदा हाम्रो घर नै चर्किने गरि डोजर लगाए हजूर! हामी अव कहाँ जाने?’ कृष्णले बिलौना पोखे।

कृष्ण दम्पती घर चर्किएसँगै नजिकैको जेठो छोराको घरमा  बस्दै आएका छन्। कृष्णको मात्र हैन जथाभावी डोजर लजाउदा भलाटाकुराको ३ वटा घर जोखिममा परे।

बाग्लुङ नगरपालिकाले निर्माण गरेको चक्रपथले धेरैलाई खुसी दिए पनि त्यही स्थानमा रहेका कृष्णहरुको मुटुमा किला गडेको छ।
दुवै खुट्टामा क्यान्सर भएर उपचारको क्रममा ३० वर्ष अघि उनको खुट्टा काटियो।

उपचार पछि कृष्णको जीवनले केही कोल्टे त फेर्यो तर आफ्नै पाखा पखेरु चहारेका खुट्टा नहुँदा आफ्नै आँगन पनि परदेश बनेको छ उनका लागि।

अन्य सम्बन्धित समाचार:  जनैमा के छ?

विगत ३० वर्षदेखि कृष्णलाई श्रीमती असरीले निरन्तर सहयोग गर्दै आएकी छिन्। त्यसो त घर पहिरोले बगाउँन लाग्यो भनेर कृष्णका जेठा छोरा बलबहादुर सार्कीले नगरपालिका पुगेर उजुरी दिए। तर पद र शक्ति भएकाहरुका मात्र भनसुन लाग्ने स्थानीय निकायमा पनि उनीहरुमाथि निवेदन र नागरिकता खोजेर  झन्झट थप्ने काम भएको बलबहादुरको दुखेसो छ।

कृष्णका दुई भाइ छोरा हुन्। दुवै छुट्टै छन्। जेठो छोरो बलबहादुरको पहिलो श्रीमतिले २ छोरी छोडेर अन्यत्रै गइन्। लगतै बलबहादुरले अर्की ल्याएर छुट्टै बस्न थाले। आफ्ना दुई छोरी उनले बाबुआमाकै जिम्मामा छाडे। उनीहरुको हेरचाह पनि कृष्ण दम्पतिको काँधमा छ।

विकासको नाममा डोजरले जथाभावी सडक कोर्तदा समाज त्रसित छ। भु–संवेदनशीलतालाई ध्यान नदिएर गरिएका विकासे योजना कसका र के कालागि भन्ने प्रश्न उठेका छन्।