वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा

श्याम गुप्ता, बीरगञ्ज।

वीरगञ्जमा साउन १० गते अर्थात् शनिवार बिहान ५ बजे देखी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रवार दिउँसो बसेको बृहत् सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो। कोरोना भाइरसको सङ्क्रमण समुदाय स्तरमा देखिन थाले पछि स्थानीय प्रशासनले राजनीतिक दल व्यवसायी सहितको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको हो। यता शुक्रवार बिहान नारायणी अस्थायी कोरोना अस्पतालमा भर्ना भई उपचार गराइरहेकी वीरगन्ज महानगरपालिका वडा नं ११ निवासी ८५ वर्षीया महिलाको मृत्यु भएको छ।

मुटु रोगबाट ग्रसित ती वृद्ध महिला निमोनिया भएर अस्पतालमा उपचारका लागि भर्ना भएको चिकित्सक डा निरज सिंहले जानकारी दिए। त्यस्तै मङ्गलवार कोरोना अस्पताल मैं उपचार गराई रहेका वीरगन्ज महानगरपालिका वडा नं ६ माईस्थानका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो। कोरोना सङ्क्रमण पुष्टि भए पछि ७० वर्षीय वृद्धको विहीवार नेपाली सेनाले अन्त्येष्‍टि गरेको थियो। पर्सा जिल्लामा यस अघि विहीवार राती ३० जनामा कोरोना सङ्क्रमण देखा परेसँगै संक्रमितको सङ्ख्या ७७ जना पुगेको छ।

अन्य सम्बन्धित समाचार:  हटाउन सक्छ भने हटाओस्, अर्को चुनावमा दुई तिहाइ ल्याउँछु: प्रधानमन्त्री ओली