भुवन केसीले हाले साम्राज्ञी विरुद्ध १० करोडको मुद्दा



काठमाडौं।

लामो समयदेखि चलचित्र क्षेत्रमा अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबिच जुहारी चल्दै आएको छ। सामाजिक सञ्जालका माध्यमबाट यी एक अर्कामा खनिदै आएको भिडियो तपाईंले पनि हेर्नु भएकै होला। हेर्नु भएको छैन भने यी कलाकारहरूले चलाउने इन्स्टाग्राम तथा फेसबुकमा गएर सर्च गरिहाल्नुस् त।

जे जस्तो भएपनि यी दुईको मतान्तरलाई लिएर कलाकारहरू पनि दुई कित्तामा बाँडिएका छन्। पुरुष र पुराना निर्माता कलाकारहरू भुवन केसीको समर्थनमा रहेको देखिन्छन् भने नयाँ र उदयमान नायिकाहरू भने साम्राज्ञीको पक्षमा देखिन्छन्। यसैबीच शुक्रबार यही विषयलाई लिएर कलाकार भुवन केसीले साम्राज्ञी विरुद्ध  काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।

शुक्रबार दिउँसो उनले १० करोड क्षतिपुर्ति माग गर्दै शाहविरुद्ध मुद्दा दर्ता गरेको बुझिएको छ। केसीले निवेदनमा आफूलाई साम्राज्ञीले विभिन्न पत्रपत्रिका, अनलाइन र युट्युब च्यानल मार्फत यौन दुर्व्यवहारको कपोलकल्पित आरोप लगाएर बदनाम गरेको उल्लेख गरेका छन्।