ट्राफिक कार्बाहीबाट बैतडीमा ४३ लाखभन्दा बढी राजश्व संकलन

दिपक महरा, बैतडी।

गएको ३ बर्षमा ट्राफिक कार्बाहीबाट बैतडीमा ४३ लाखभन्दा बढी राजश्व संकलन भएको छ। आर्थिक बर्ष २०७४÷०७५ देखि आर्थिक बर्ष २०७६÷०७७ सम्म ट्राफिक कार्बाहीबाट ४३ लाख ७४ हजार रुपैंया राजश्व संकलन भएको हो। उक्त राजश्व संकलन हुँदा ३ बर्षको अवधिमा ७ हजार ७ सय ८० सवारी कार्बाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख,प्रहरी सहायक निरीक्षक राजेन्द्र रावलले जानकारी दिए।

कार्यालयका अनुसार आर्थिक बर्ष २०७४÷०७५ मा २ हजार ३ सय ६५ सवारी कार्बाहीबाट १३ लाख ४४ हजार ५ सय रुपैंया राजश्व संकलन भएको हो। यस्तै २०७५÷०७६ मा ३ हजार ४२ सवारी कार्बाहीबाट १७ लाख २ हजार ५ सय र २०७६÷०७७ मा २ हजार ३ सय ७३ सवारी कार्बाहीबाट १३ लाख २७ हजार राजश्व संकलन भएको जनाईएको छ।

अन्य सम्बन्धित समाचार:  बझाङ: विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि धुली मावि बन्द

ट्राफिक नियमको उल्लंघन गर्नेमा बढीजसो जीपकार, ट्रक र मोटरसाइकल रहेका ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक कार्बाहीमा बढीजसो लाइसेन्स नभएका, सिट क्षमताभन्दा बढी यात्रु ओसारपोसार गर्ने, हेल्मेट प्रयोग नगर्ने, कागजपत्र नबोक्ने, क्षमताभन्दा बढी लोड बोक्ने कार्बाहीका परेका हुन्।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार नियम उल्लंघन गर्नेलाई ट्राफिक प्रहरीले ५ सय देखि १ हजार ५ सयसम्म जरिवाना गर्ने गरेको छ। तोकिएको भन्दा बढी मालसमान राखेमा,सवारीको अन्य भागमा मानिस तथा मालसमान राखे,प्रयोजन विपरित सवारी चलाएमा,हेल्मेट नलगाएमा,अरु सवारीलाई खतरा हुने तथा आवागमनमा बाधा पुर्याएमा र छतमा यात्रु बोकेमा ५ सय जरिवाना हुने गरेको छ।

सवारी चालक अनुमती पत्र नभएको, सार्वजनिक स्थानमा बाधा पुग्ने गरि मालसमान वा सवारी राखेमा,दुर्घटनामा परेको सवारी तथा यात्रुको हानी नोक्सानी वा सम्पर्कमा नआएको, मादक पदार्थ सेवन गरि सवारी साधन चलाएमा १ हजार रुपैंया जरिवाना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ।