पहिरोमा पुरिँदा एक बालक वेपत्ता, चार घाइते

दार्चुला। दार्चुलाको महाकाली नगरपालिका ३ मा पहिरो जाँदा एक बालक वेपत्ता भएका छन्। चार  जना घाइते भएका छन्। घरबाट सदरमुकाम खलंगा आउँदै गर्दा नौगाड गाउँपालिका २ सुन्डमुन्डका ७ वर्षीय जेनिस ठगुन्ना पहिरोमा पुरिएका हुन्।

खलंगामा अध्ययनरत ठगुन्ना लकडाउनमा घर गएका थिए। उनी अध्ययन गर्न खलंगा आउँदै थिए। पैदल नै आउँदै गर्दा दार्चुला दल्लेख सडकखण्डको हसन खोला नजिकै एक्कासी ढिस्को खसेको हो।

उनको साथमा हिँड्दै गरेका नौगाड गाउँपालिकाकै संगिता ठगुन्ना, बिमल ठगुन्ना, हरक ठगुन्ना र डम्बर बोहरा सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणले पहिरो पन्छाइरहेका छन्। ठूलो पहिरो गएकाले डोजरको प्रयोग गर्नुपर्ने अवस्था रहेको घट्नास्थलमा रहेका एक प्रहरीले बताए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले स्विच थिचेसँगै सुन्दरीजलमा झर्यो मेलम्चीको पानी