बागलुङ। बागलुङ नगरपालिका–१ निरयघाट नजिक स्काभेटर, टिपर र ट्याक्टर पहिरोमा पुरिएका छन्। पहिरोमा परी दुई चालक वेपत्ता भएका छन्। शनिबार राति पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए।
स्काभेटर चालक भने सम्पर्कमा आएका छन्। ढुङ्गा र माटो पन्छाउने क्रममा पहिरो खस्दा ध१च ४७ नंको ट्र्याक्टर र ग१ख ४६३७ नंको टिपर पुरिएको हो। पहिरोमा पुरिएको स्काभेटरको नम्बर खुलेको छैन। वेपत्ता चालकको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलतर्फ गएको छ। निरन्तर पहिरो खसिरहेका कारा उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
सुरक्षाकर्मीले रातभर जेनेरेटर बालेर उद्धारको प्रयास गरे पनि सम्भव भएन। आइतबार बिहानैदेखि उद्धारको प्रयास जारी छ।