काठमाडौँ। कोरोना भाइरसबाट हालसम्म विश्वका विभिन्न देशमा १६१ नेपालीको ज्यान गएको छ। गैरआवासीय नेपाली संघका अनुसार पछिल्लो समय कोरोनाबाट बेलायतमा एक नेपालीको मृत्यु भएको छ।
गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार हाल ३६ देशमा ३१ हजार १५० नेपाली नागरिक कोरोनाबाट संक्रमित छन्। ती मध्ये ९३ प्रतिशत अर्थात् २९ हजार २४३ नेपाली कोरोनाबाट मुक्त भइसकेका छन्। यूएई, कतार, कुवेत र साउदी अरबमा नेपालीहरु कोरोनाबाट बढी संक्रमित छन्।
नेपालसहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २०६ पुगेको छ। नेपालमा हालसम्म कारोनाबाट ४५ जनाको ज्यान गएको छ। नेपालमा शनिबारसम्म संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ।
विदेशमा अलपत्र ३४ हजारको उद्धार
नेपाल सरकारले विश्वका विभिन्न देशमा अलपत्र रहेका ३४ हजार ८३० नेपालीको उद्धार गरेको छ। गैरआवासीय नेपाली संघ, विदेशस्थित कूटनीतिक नियोग एवं नेपाल सरकारको सहकार्यमा २५ देशबाट प्रभावित नेपालीलाई स्वदेश फर्काइएको हो। नेपाल सरकारले तत्कालका लागि बिहीबारदेखि उद्धार उडान स्थगित गरेको छ। आगामी भदौ १ गतेदेखि पुनः नियमित उडान थाल्नेछ।
विदेशबाट ९४ शव ल्याउन बाँकी
कामको खोजीमा विश्वका विभिन्न देशमा गएका धेरै नेपालीले ज्यान समेत गुमाएका छन्। यसरी ज्यान गुमाएका नेपालीलाई लकडाउनका कारण हाल स्वदेश ल्याउन समस्या भएको छ। हालसम्म मलेसिया, साउदी अरब, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरियालगायत देशबाट २१६ नेपालीको शव नेपाल ल्याइएको छ।
विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४७४ नेपालीमध्ये १६५ जनाको उनीहरुका परिवारको सहमतिमा कार्यरत देशमै अन्त्येष्टि गरिएको छ। विदेशबाट अझै ९४ शव नेपाल ल्याउन बाँकी छ।