बाँकेमा रासायनिक मलको चरम अभाव 



बाँके।  बाँकेमा रासायनिक मलको चरम अभाव देखिएको छ। यतिबेला किसानलाई धानबालीका लागि मल चाहिएको छ। तर, नेपालगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडले कृषकलाई मल उपलब्ध गराउन सकेको छैन। कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रमेश पौडेलका अनुसार, बाँकेमा ४२ हजार हेक्टरमा खेती हुँदै आएको छ। जसका लागि छ हजार मेट्रिक टन युरिया, तीन हजार मेट्रिक टन डिएपी र १०० मेट्रिक टन पोटास मल आवश्यक पर्छ।

गत आर्थिक वर्ष २०७६/७७ मा तीन हजार ६०० मेट्रिक टन युरिया, एक हजार ७०० मेट्रिक टन डिएपी र ४० मेट्रिक टन पोटास मात्रै आपूर्ति हुँदा बाँकेमा मलको अभाव देखिएको हो। कृषि कम्पनी लिमिटेडले यहाँका सहकारी मार्फत किसानसम्म मल पुर्याउने गरेको छ।

अन्य सम्बन्धित समाचार:  कपिलवस्तु: समुदाय स्तरमा कोरोनाको अवस्था बुझ्न नमूना स्वाब संकलन

बाँकेका करिब १०० सहकारीले कम्पनीबाट मल खरिद गरेर किसानलाई बिक्री वितरण गर्दै आएका छन् तर, सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई वितरण गरेर बाँकी रहेको मल मात्रै बिक्री गर्दै आएकाले किसान समस्यामा पर्ने गरेका छन्।

यद्यपि, जिल्ला सहकारी सङ्घले भने सबैलाई समानरूपले मल वितरण गरेको सङ्घ बाँकेका अध्यक्ष प्रेम सुवेदीको दाबी छ। कोरोना महामारीपछि बाँकेको सीमानाका बन्द भएकाले यस वर्ष सीमा पारिबाट पनि सहजरूपमा मल ल्याउन नसकिएको कृषकहरू बताउँछन्।