मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध: सयौं यात्रु अलपत्र

Prabhu Bank

Sagoon

सुवास आचार्य,बागलुङ।

Saftey Pads

लगातारको वर्षाका कारण बागलुङको ठाउँ ठाउँमा पहिरो जाँदा राष्ट्रिय गौरवको सडक मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध बनेको छ। दिनहुँजसो ठूलो मात्रामा पानी परेपछि कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको सडक ठाउँ ठाउँमा ठूल्ठूला पहिरो झरेपछि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ।

हरेक दिन सडकमा खसेको पहिरो डोजर/एक्स्काभेटर लगाएर खोलिए पनि रातभरी पहिरो झर्दा सडक अस्तव्यस्त बन्न पुगेको ट्राफिक प्रहरी प्रमुख शिव पाठकले बताए। मध्यपहाडी लोकमार्ग बागलुङ सदरमुकाम खण्डको जिम्मेवारी लिएको ठेकेदार कम्पनी सिद्वि शाही कन्स्ट्रक्सनले बहाना बनाउँदै काम सम्पन्न नगरेका कारण सडक अवरुद्ध बनेको भन्दै ठेकेदार कम्पनीलाई कारबाही गरी हटाउनु पर्ने बागलुङका संघीय सांसद डाक्टर सूर्य पाठककाे राय छ।

अन्य सम्बन्धित समाचार:  महाकालीको भेलले उठिबास लगाउला भन्ने त्रासमा अडेको बस्ती

यही साउन ७ गतेदेखि ठाउँ ठाउँमा पहिरो झरेर लोकमार्ग अवरुद्ध बनेको छ। पहिरो सफा गरी एकतर्फी सवारी सञ्चालनमा ल्याइए पनि निरन्तर रूपमा पहिरो खसेर लोकमार्ग पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

अहिले पनि वर्षा भैरहेको र पहिरो झरिरहेकाले लोकमार्ग सञ्चालनमा ल्याउन केही समय लाग्ने र त्यसका लागि प्रयास गरिरहेको प्रहरीले जनाएको छ।

पहिरोका कारण सयौं सानाठूला सवारीसाधन चल्न सकेका छैनन् भने बागलुङ जिल्लाको पश्चिमतिर पर्ने रूकुम तथा गुल्मी जिल्ला हिँडेका सयौं यात्रु बाटोमै अलपत्र परेका छन्। पहिराेका कारण लोकमार्ग अवरुद्ध भए पनि सडक डिभिजन कार्यालयले समयमा सडक नखोल्दा यात्रुहरुले कष्ट ब्यहोर्नु परेको स्थानीयकाे गुनासाे छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री नै पार्टी फुटाउन सक्रिय हुनुहुन्छ: केन्द्रीय सदस्य खड्का
Maruti Cement