जाजरकोटमा विषालु च्याउ खाँदा एकै घरका चार जनाको मृत्यु



सुर्खेत। जाजरकोटमा विषालु च्याउ खाँदा एकै घरका चार जनाको मृत्यु भएको छ। सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा कुशे गाउँपालिका-१ स्याँक्रीका एकै घरका थप तीनजना बालबालिकाको मंगलबार मृत्यु भएको हो। एक बालिकाको सोमबार गाउँमै मृत्यु भएको थियो।

साउन ९ गते जंगलबाट च्याउ ल्याइ खाएका टेकबहादुर चलाउनेसहित परिवारका ८ जना गम्भीर बिरामी परेका थिए। बिरामीमध्ये टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममा मृत्यु भएको बताइएको छ।

विषालु च्याउ खाएर गम्भीर बिरामी भएका सात जनालाई गाउँपालिकाले नेपाली सेनाको हेलिकोप्टर चार्टर गरी उपचारका लागि सोमबार नै सुर्खेत पुर्‍याएको थियो। बिरामीमध्ये एकजनाको अवस्था अझै गम्भीर रहेको र तीनजनाको अवस्था सामान्य रहेको छ। घरमूली टेकबहादुर चलाउने, ३० वर्षीय छोरा ललिते र ३० वर्षीया बुहारी कल्पना र छोरी पशुपति चलाउनेको उपचार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  पर्सामा कोरोनाबाट १८ वर्षीया युवतीको मृत्यु