मास्क नलगाई बाहिर निस्कदै हुनुहुन्छ? जरिबाना तिर्नुपर्ला



अप्रिल अधिकारी,रामेछाप।

कोभिड-१९ को जोखिम बढन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापले सर्वसाधारणलाई घर बाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य गरेको छ। मास्क नलगाई घर बाहिर निस्कनेलाई जरिबाना गराइने भएको छ। बुधबार सबैलाई एकपटक सम्झाउने र अटेर गर्नेहरुलाई बिहीबारबाट १ सय रुपैयाँ जरिबाना गराइने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्।

जिल्ला प्रशासन कार्यालय रामेछाप र जिल्ला प्रहरी कार्यालय रामेछापको संयुक्त आयोजनामा आज सदरमुकाम मन्थलीमा मास्कको अनिवार्य प्रयोगका लागि सचेतना जगाउन  र्‍यालीकाे आयोजना गरिएको थियो। र्‍यालीमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी प्रमुख बसन्त पाठक, जिल्ला समन्वय समतिका संयोजक प्रेमबहादुर खडका, ट्राफिक प्रहरीका जिल्ला इन्चार्ज रामेश्वर पाण्डे लगायतले सडकमा मास्क नलगाई हिँडनेलाई मास्क दिँदै अनिवार्य रुपमा लगाउन सचेत गराएका थिए।

अन्य सम्बन्धित समाचार:  अवरुद्ध सडक र पुल सञ्चालनमा ल्याउने तयारी

र्‍यालीमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा आफैँले जिल्लामा सञ्चालित बसका यात्रु र कर्मचारीलाई सम्झाउँदै अनिवार्य रुपमा मास्क प्रयोग गर्न र सावधानी अपनाउन अनुरोध समेत गरेकी थिइन्। पछिल्ला दिनमा समुदाय स्तरमा संक्रमण फैलन सक्ने सम्भावना बढेर गएकोले कडाइ गर्ने निर्णयमा स्थानीय प्रशासन पुगेको शर्माले बताइन्।

प्रजिअ शर्माले स्थानीय तहहरुसँग पनि आवश्यक समन्वय गरेर जिल्लाभर न्यूनतम सावधानी अपनाउने वातावरण तयार गरिने बताइन्।