पूर्णविराम लाग्न नसकेको उखु किसानहरूको अन्त्यहीन कथा

Prabhu Bank

Sagoon

शम्भु दाहाल, झापा।

Saftey Pads

नेपालमा उखु किसानको समस्या नसुनेका सायद विरलै मानिस भेटिएलान्। उखु बेचेर आएकाे पैसाले दाल भात र डुकुको जोहो गर्ने अनि सन्तानको भोलि सुखद् बनाउने धेरै बाबुआमाको सपना विपना बन्न सकेको छैन। त्यसैले त वर्षैपिच्छे तिनको वेदनाले भरिएका सङ्घर्षका कथाहरु धेरै सुनिँदै आएका छन्।

उखु कृषकहरूको कथा भूगोल अनुसार फरक छन्। कतै उखु बेचेर पनि चिनी मिलहरुले वर्षौंसम्म पैसा नदिएको, कतै विचौलियाले सस्तो दरमा उखु खरिद गरेको त कतै बजार पाउनै मुस्किल भएको।

विशेषतः तराईका पूर्वी भेगदेखि पश्चिम भेगसम्मै हुने गरेको उखुभित्रको गुलियो एकातिर भए पनि ती कृषकहरूले ब्यहोर्नु परेको तितो यथार्थकाे फेहरिस्त लामो छ।

त्यसैले त उखु किसानको समस्या कहिले सिंहदरवार वरपरका सडकपेटीमा आएर पोखिन्छ त कहिले माइतीघरमा अनशन बसेर।
वर्षौँसम्मको आफ्नो मेहनतको मूल्य नपाएकै कारण उखु कृषकहरूले गत साल बस्तीमै हराएको आवाज सुनाउन शासक बस्ने दैलोसम्मै आउनु पर्यो।

गतवर्ष झरीमा पोकोपुन्तुरो कसेर शहर छिरेकाहरूको समाचार सेलाउन नपाउँदै उसैगरी झापाका उखु किसान समस्यामा फसेका छन्।कृषक पर्शुराम भारतीको अर्जुनधारा, मेचीनगर, बुद्धशान्ति र हल्दीबारीमा २ सय ६२ बिगाहा जमिनमा उखु खेती छ। उनले यही खेतीबाट नै आर्थिक रुपमा घरको गर्जो टारे। तर सरकारको उदासीनताले पर्शुरामको गला घरीघरी अवरुद्ध बन्दै आएको छ। ‘वर्षौँदेखि उखु खेती गर्दै आएँ,  तर अहिले काट्नु न राख्नुको अवस्थामा पुगेको छु’, पर्शुरामले सुनाए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले भने, ‘अयोध्याबारे भारतीय जनता नै विश्वस्त छैनन्’

त्यसो त सरकारको उदासीनताका कारण अहिले उखु खेती मास्नुपर्ने परिस्थितिमा उनी मात्र हैन जिल्लाका अन्य कृषकहरू समेत पुगेका छन्। ‘खेतीको बिमा गरेका किसानले पनि त्यसको रकम पाएनन्’, अर्जुनधाराका पुराना कृषक तथा उखु किसान संघर्ष समितिका संयोजक समेत रहेका भारतीले सुनाए। उनले थपे, ‘हामी स्थानीय सरकारदेखि प्रदेश सरकारसम्म गुनासो लिएर पुग्यौँ, कसैले हाम्रो समस्या बुझेनन्।’ लकडाउनका कारण उखु बेच्न नपाएका किसानलाई कम्तीमा साँवा उठ्ने गरी राहत व्यवस्था गरिदिन र बिमा गरेका किसानलाई सो बापतको रकम उपलब्ध गराईदिन पर्ने एउटै माग छ उनीहरुको। ‘अघिल्लो वर्ष उखु खेती गरेर राम्रै आम्दानी गरेको थिएँ, तर यसबर्ष चकनाचुर भयो’ अर्का किसान भुपेन्द्रले पोहोर सम्झिए।

उनी मात्र हैन उखु खेती गर्दै आएका दिनेश दाहाल र सञ्जु भारतीको विलौना पनि एउटै छ। ‘बैंकको ब्याज कसरी तिर्ने भन्ने चिन्तामा छौं,’ उखु बिक्री गर्नसमेत चुनौती छ हजूर’, सञ्जुले सुनाए।

कृषकहरूले मूल्य नपाएर बारीमै उखु जोत्न थालेका दृश्य नियाल्दा लाग्छ मुलुकमा कृषकका कुरा सुन्ने र बुझ्ने कोही छैनन्।

आफ्नो समस्याको पोको बोकेर उनीहरु धेरै ठाँउ पुगे। समस्या राखे। तर कसैले सुन्ने चेष्टा नगरेको उखु किसानहरुले सुनाए।
झापाका किसानले उखुलाई जुस बनाएर बेच्ने सानो उद्योग चलाएका थिए। तर त्यो लकडाउनको मारमा पर्यो।

अन्य सम्बन्धित समाचार:  भदाै १ देखि सीमित ठाउँमा आन्तरिक उडान: ट्रंक रुटमा तत्काल नखोलिने

चैतको शुरुदेखि नै कोरोनाको त्रासदीले उनीहरुको काममा अवरोध पुर्‍यायाे। लकडाउन हुँदा उनीहरुलाई समस्यामाथि समस्या थपिँदै गयो। उखु खेतबारीमै सुक्यो भने सिजनको अन्त्यतिर ‘पानी चढेर’ कुहियो। कसैले जग्गा भाडा त कसैले ठेक्कामा लिएर उखु खेती गर्दै आएका सबै नै मारमा परे। त्यसैले त खेती नै मासेर धानबाली लगाउन थालेका छन् कृषक।

झापामा उत्पादन भएको उखु स्थानीय बजारसहित देशका ठूला शहरसम्म पुग्ने गरेको छ। गत आर्थिक वर्षमा ५ हजार २ सय ४ मेट्रिक टन उखु उत्पादन भएको तथ्याङ्क छ। तर कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंह भने उखु बिक्री नभएको बारे आफूलाई जानकारी नभएको र थोरै क्षेत्रमा उत्पादन हुने भएकाले व्यावसायिक नहुँदा राहत लगायतका सेवासुविधा प्रदान गर्न समस्या भएको बताउँछन्। ‘लकडाउनका कारण उखु बिक्री नभएको मलाई थाहा छैन’, उनले भने, ‘फेरि उखु नगदेबाली भएकाले यसमा राहतको व्यवस्था पनि छैन।’
यसरी किसानले लाखौँ रुपैयाँ र परिश्रम लगानी गरेर उखु खेती गर्दै आए पनि विभिन्न परिस्थिति र बजारका कारण कृषि कर्मबाटै पलायन हुने स्थिति छ। सरकारले कृषि पेशालाई प्राथमिकतामा राखेको जनाए पनि वास्तविक किसान भने मारमा परिरहेका छन्।

कृषिप्रधान मुलुक नेपालका कृषकहरूको यसखाले नियतिले कृषिमा क्रान्ति गर्ने सपना देखाएर बजेटको कोरा कल्पनामा डुबाउनेहरुको असली नियतमाथि व्यङ्ग्य गरिरहेको आभाष हुन्छ घरीघरी।

Maruti Cement