सकसमा मुस्ताङवासी : हवाई सेवा र सडक बन्द हुँदा भोकै रहने चिन्ता



मुस्ताङ। झण्डै एक महिनादेखि मुस्ताङको सडक सम्पर्क बन्द छ। यसबीचमा बाढी र पहिरोले ठाउँ ठाउँमा सडक भत्काएको छ। हवाई सेवा समेत बन्द छ। बजारको भाउ ह्वात्तै बढेशको छ। बजारमा अत्यावश्यक वस्तुको अभाव भएको छ।

लामो समयदेखि यस्तै पीडामा बस्न बाध्य छन् मुस्ताङवासी। यातायातको सबै विकल्प बन्द हुँदा मुस्ताङवासीलाई निकै सकस भएको छ। बिरामी परे उपचार गर्न के गर्ने भन्ने चिन्ताले पिरोल्ने गरेको छ। हिउँदमा भारी हिमपातका कारण खेतीपाती र पशुचौपायाको क्षति व्यहोर्दै आएका यहाँका किसान वर्खामा सडक भत्किँदा आफ्नो उत्पादन बिक्री गर्न पाउँदैनन्।

गत असार १९ गते अत्यधिक वर्षा हुँदा छिमेकी जिल्ला म्याग्दीसँग मुस्ताङको सडक सम्पर्क बिच्छेद भयो। कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डअन्तर्गत घोप्टेभिरमा सडक बगायो। उक्त सडक बगाएको महिना बित्दैछ। अझै सडक मर्मतको सुरसार छैन।

अन्य सम्बन्धित समाचार:  रुपन्देहीमा क्वारेन्टिनमा बसेका युवाले आफ्नै शरिरमा आगो लगाए

असार २६ गते बाढीले म्याग्दीको गलेश्वरस्थित बेलिबृज बगायो। त्यसपछि त मुस्ताङवासीको पीडमा माथि पीडा थपियो। ‘घोप्टेभिरमा बगाएको सडक बनाउँदै थियौँ, नदीको किनार छुनेगरी गहिरिएको छ’ प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले भने, ‘ठाउँ ठाउँमा फेरि पहिरो खस्यो।’ जिल्ला प्रवेश गर्ने एउटै नाका घाँसादेखि जोमसोमसम्म ठाउँ ठाउँमा बाढी पहिरोले सडक बगाएको छ। अब वर्षा नरोकिँदासम्म सडक बन्ने छाँटकाँछ छैन।

आनतरिक हवाई सेवा सञ्चालनमा ल्याउने सरकारी निर्णयसँगै मुस्ताङमा चार्टर जहाज उडान फाट्टफुट्ट हुँदै थियो। केही दिनयता मौसममा खराबी आएको छ। चार्टर जहाजको उडान पनि बन्द छ। मुस्ताङ अब पूर्ण रुपमा बाहिरी जिल्लासँग सम्पर्कविच्छेद अवस्थामा छ।

सडक र हवाईमार्ग बन्द हुँदा जोमसोममा पेट्रोलियम पदार्थको अभाव भएको छ। खाद्यान्न अभावको खतरा कायमै छ। मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्रप्रसाद तुलाचन तेल र ग्यास अभाव भएको बताउँछन्। सबैभन्दा बढी बिरामी मारमा परेको घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले बताए।

अन्य सम्बन्धित समाचार:  उपत्यकामा लकडाउनको बिकल्प देखिएन: विज्ञहरुसँग छलफलमा प्रधानमन्त्री

आलु र गाजर बारीमै थन्किने उनलाई चिन्ता छ। यहाँको आलु पोखरा, काठमाडौँलगायत शहरमा बिक्री गरिँदै आएको थियो। किसानको लगानी खेर जाने स्थिति छ। स्थानीय तहले सडक मर्मत गर्न सक्ने अवस्था छैन। त्यसले यहाँका स्थानीय तहका पदाधिकारीहरु प्रदेश र केन्द्रको मुख ताकेर बसेका छन्।

भदौदेखि यहाँको स्याउ बिक्रीका लागि तयार हुन्छ। तर बाटो छैन। स्याउ बिक्री गर्न सकिएन भने मुस्ताङवासी भोकै बस्नुपर्ने हुन्छ। महँगो भाडा तिरेर स्याउ बिक्री गर्न लैजाने यहाँका किसानका निम्ति खराब मौसम पनि बाधक बन्ने गरेको छ। यस्तै रहे हेलिकप्टर चार्टर पनि मुश्किल हुने तुलाचन बताउँछन्।