सिपिएल खेल्न जानु अघि सन्दीपले भने, ‘चार महिना उकुसमुकुसमै बित्यो, अब बिन्दास भएर खेल्छु’

  • विक्रम गिरी,काठकाडौँ 


बुधबार साँझ सन्दीप लामिछाने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा निकै हँसिलो मुद्रामा देखिए। कारण बिहीबार बिहान क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न ट्रिनिडाड एन्ड टोबागो उड्दै थिए। उनी पिँजडाबाट छुटेको चरा जस्तै अवस्थामा थिए। किनभने कोरोना भाइरसको महामारीका कारण सन्दीप चार महिनादेखि घरमै कैद थिए।

चैत महिना अघि विश्वका प्रतिष्ठित क्रिकेट प्रतियोगिता खेल्नमै उनलाई भ्याइनभयाई थियो। सँगसँगै मनग्य आम्दानी पनि आर्जन गरिरहेका थिए। एक्कासी अरु खेलाडीलाई जस्तै सन्दीपलाई पनि कोरोनाको कहर आइलाग्यो। चार महिनामा महत्वपूर्ण क्रिकेट प्रतियोगिता गुमाउनुको पीडा त उनीसँग छँदै थियो त्यो भन्दा बढी छटपटी उनलाई अबका प्रतियोगिताका लागि आफुलाई कसरी तयारी अवस्थामा राख्ने भन्ने थियो।

कोरोना महामारीकै बीच सन्दीप गत असार २२ गते क्यारेबियन प्रिमियर लिग (सिपिएल)का लागि छनोट भए। त्यो भने उनले चाहेकै मूल्यमा अर्थात् ९० हजार अमेरिकी डलरमा। सिपिएल छनोटले सन्दीपले झन तनाव बेहोर्नु प¥यो। नेपालमा भदौ १ गतेसम्म कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाई उडान बन्द छ। अब सिपिएलमा छनोट हुनुभन्दा बढी चुनौती प्रतियोगिता आयोजनास्थल ट्रिनिडाड एन्ड टोबागो कसरी पुग्ने भन्ने भयो।

 

आफै एक्लैले जहाज चार्टर्ड गरेर उड्न सक्ने अवस्था थिएन। यस्तोमा अरुले नै चार्टर्ड गरेको जहाज चढ्नु पर्ने भयो। यो एकदमै गाह्रो कुरा थियो। तर सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले सरकारको सहयोगमा जसोजसो गरी सन्दीपलाई ट्रिनिडाड एन्ड टोबागो उड्ने व्यवस्था मिलाएका हुन्।

अन्य सम्बन्धित समाचार:  बालुवाटारमा नेकपाका शीर्ष नेताहरुबीच छलफल जारी

‘बन्दाबन्दीमा घरमै बसे, समय व्यतित गर्न निकै गाह्रो भयो’ त्रिवि मैदानमा खुशी हुँदै सन्दीपले भने। घरमा बस्दा बस्दा निकै छटपटी भएको उनले बताए। ट्रिनिडाड एण्ड टोबागोमा उनले भदौ २ गतेदेखि २५ गतेसम्म सिपिएल खेल्ने छन्। जमैका तलावाजले सन्दीपलाई अनुबन्ध गरेको हो। ‘हिजोसम्म सिपिएल खेल्न पाइन्छ कि पाइन्न भन्ने दुविधा थियो’ उनले भने, ‘बुधबार मात्र जहाजको टुङ्गो लाग्यो, अब सिपिएल खेल्न उत्साहित छु।’

पछिल्लो समय जहाजको टुङ्गो नलाग्दा कैयौँ रात निद्रा नै भङ्ग भएको उनको भनाइ थियो । ‘अब खेल्न पाइनेमा ढुक्क भए’ आफ्नो गृह मैदानमा खुशी हुँदै सन्दीपले भने। कोरोना भाइरसका कारण अन्तरराष्ट्रिय हवाई उडान बन्द हुादा उनले सिपिएल गुमाउने अवस्था थियो। अन्तिम समयमा चार्टर्ड विमानमार्फत उनी बिहीबार दक्षिण कोरियाहुँदै ट्रिनिडाड एन्ड टोबागोतर्फ उडेका छन्। सन्दीपको यात्रा सुनिश्चित गराउनमा उनका व्यवस्थापक शिवाकोटीको भूमिका अहम‍ छ।

शिवाकोटीको हप्तौँको दौडधूपले ट्रिनिडाड एन्ड टोबागोको यात्रा निश्चित भएको हो। ‘पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालयलगायतको सहयोगले सन्दीप खेल्न जाने टुङ्गो लागेको हो’ शिवाकोटीले भने। सन्दीपको हवाई उडानका लागि केही खेलप्रेमीको रातदिनको दौडधूप सम्झिन लायक रहेको उनी बताउँछन्। ‘हाम्रो व्यक्तिगत प्रयासले सिपिल खेल्न पाउने सम्भावना थिएन’ उनले भने।

अन्य सम्बन्धित समाचार:  प्रदेश २: मुख्यमन्त्री कार्यालयका ६ सहित १०३ जनामा कोरोना संक्रमण

बिहीबार उडे पनि सन्दीप आइतबार मात्र ट्रिनिडाड एण्ड टोबागो पुग्नेछन्। यसका लागि उनले नेपालबाट कोरियन एअरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया, त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागोको हवाई यात्रा तय गर्नुपर्नेछ। ‘त्यहाँ पुगिसकेपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ’ सन्दीपले भने। सिपिएल खेल्न जानुअघि उनले मङ्गलबार ललितपुरको स्टार हस्पिटलमा कोरोना परीक्षण गराए। उनले परीक्षणको रिपोर्ट बुधबार प्राप्त गरे।

‘कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ, अब ढुक्क भए’ सन्दीपले भने। उनको टोलीमा विश्व क्रिकेटका प्रख्यात खेलाडी आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी, ओशन थोमसलगायत छन्। उनी आबद्ध जमैका तलाबाजले आगामी भदौ ३ गते सेन्ट लुसियासँग खेल्नेछ। ट्रिनिडाड एन्ड टोबागोबाट सन्दीप इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्न संयुक्त अरब इमेरेटस् (युएई) जानेछन्।

कोरोना महामारीका कारण यसपटक आइपिएलको १३औँ संस्करण असोज पहिलो सातादेखि युएइमा हुँदैछ। सन्दीप आइपिएल दिल्ली क्यापिटल्सबाट खेल्नेछन्। उनले तेस्रोपटक आइपिएल खेल्न लागेका हुन्। अब उनी चाँडै नेपाल फर्किने सम्भावना छैन।

आगामी कार्तिकसम्म आइपिएल सकाएर सन्दीप अनी मात्र नेपाल फर्किने छन्। ‘जहाँ गए पनि नेपालको इज्जत र प्रतिष्ठाका लागि खेल्छु, चार महिना कोरोनाका कारण उकुसमुकुसमै बित्यो, अब बिन्दास भएर खेल्छु’ छुट्टिने बेला सन्दीपले भने।