भूगोल फेरियो तर फेरिएन जीवनशैली



इन्दु धामी, कञ्चनपुर।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर-९, खल्लामसेट्टीमा छ राउटे समुदायको बसोबास। जंगलमा बसेर फिरन्ते जिन्दगी बिताउँदै आएका राउटेहरुलाई त्यस ठाउँमा स्थानान्तरण गरिएको हो। तर जंगलबाट बाहिर आइसक्दा पनि राउटेका जीवनशैली झट्ट हेर्दा फिरन्ते युगकै झैं लाग्छ।

परिवर्तनशील समाजमा रोकिएको घडीको सुई जस्तै तिनका जिन्दगी उसै गरी रोकिएका छन्। नफेरिएको उही र उस्तै बसोबास र जीवनशैलीले राउटेहरुको गरिबी झल्काइरहेको छ। राउटेहरुको परम्परागत ढर्राको जिन्दगीमा परिवर्तन ल्याउन भएगरेका प्रयासले तिनलाई सहजता भन्दा पनि असहजता थपेको उनीहरुको भनाईले प्रस्ट्याउँछ।

कुनै समय खुला आकाशमा स्वतन्त्र उड्ने चराजस्तै राउटे समुदायका मानसिहरु जंगलमा विचरण गर्नबाट वञ्चित भएका छन्। कन्दमूल खाेजेर खान नसक्ने भएका छन्। जंगली जनावरको शिकार गरेर धित मर्नेगरी मासु खाने अवस्थामा छैनन् उनीहरु आजभोलि।
राउटेहरुको हात र गोडा जंगलबाट समाजमा ल्याइएपछि बाँधिएर छोडिएको जस्तै पारिएको उनीहरुको आशयले झल्काइरहेको छ।
त्यसैले त आफ्ना चाहना बन्धक हुँदा काठका सामान बनाएर शहरबजार डुलिरहेको यादहरुमा हराइरहेका छन् आजभाेलि।

स्थानान्तरणको मारमा परेका राउटेहरु अहिले त झन् मागेर गुजारा चलाउन समेत नसक्ने अवस्थामा पुगेका छन्। पुर्खौंदेखि जंगलमै बस्ने, कन्दमूल खाने र जंगली जडीबुटीले उपचार गर्ने राउटे समुदायको जीवन परिवर्तनको लागि राज्यले तिनलाई लोपोन्मुख समुदायका रुपमा सूचीकृत गर्‍याे।

सुविधाबाट विमुख मानिसहरुका एक प्रतिनिधि पात्र हुन् खल्लामसेट्टीमा बस्दै आएका बडसिंह राउटे। जसलाई जंगलबाट स्थानान्तरण गरिएपछि परिवारको दैनिकी चलाउन नै हम्मे-हम्मे हुन थालेको छ आजकल। ‘जंगलमा हुँदा तरुल, कन्दमूल खाएर गुजारा चलाउँथ्यौं, तर जंगलबाट यहाँ आएपछि पनि हाम्रा दिन उस्तै नै छन्’, बडसिंहले दुखेसो पोखे।

रासनको अभावमा छट्पटाएको बडसिंहको अवस्था हिजोको जति पनि नरहेको उनले सुनाए। तीन छोराहरुको पेट भर्न नपाँउदा उनलाई असाध्यै छट्पटी हुन थालेको छ। ‘बच्चाहरुलाई कहिलेकाहीँ त खुवाउने कुरा नभएर भोकै सुताँउछु,’ उनले सुनाए।

आफूहरुको समस्यामा कसैले पनि ध्यान नदिएको बताउने बडसिंह बस्तीभित्रका एक्ला हैनन्, उनकै जस्तो समस्या राउटे बस्तीका अरुहरुको पनि छ।

अन्य सम्बन्धित समाचार:  बैतडीका ३ युवा अनशनमा किन बसे?

राज्यले राउटे समुदायलाई लोपोन्मुखको सूचीमा राख्यो तर तिनका सुविधामा भने राज्यको उपस्थिति बलियो देखिएन। यससँगै राउटेहरुलाई गाउँमा बस्नुभन्दा जंगल नै प्यारो लाग्न थालेको छ हिजोआज।

परिवार पाल्नको सास्तीले जंगल नै जान पाए हुन्थ्यो भन्ने उनीहरुको चाहना छ। जङ्गलमा गिठा, तरुल, कन्दमूल मात्र हैन, मासुसमेत खान पाउने हुँदा उतै फर्किन पाए दुखका दिन सकिन्थे भन्ने सोचमा छन्।

जंगलमा रहँदा सीमित सामान मात्र किन्ने राउटे बसोबास परिवर्तनसँगै धेरै चीज किन्नु पर्ने बाध्यतामा छन्। तिनका परम्परागत पेशा पनि बसोबास परिवर्तनसँगै संकटमा पर्दै गयो।

काठको सामान बनाउन समेत नपाउँदा उनीहरुको बैचैनी बढ्दो छ दिनप्रतिदिन। त्यसैले त ‘हरेक दिन’ एक युग बाँचे जस्तै हुने गरेको बडसिंहको भनाई छ। उनीहरुको गुनासाले भरिएका पोकाहरुभित्र समस्याका दर्जनाैँ चाङ छन्।

दुनियाँबाट टाढा रहेर आफ्नै संसारमा रमाइरहेकाहरुलाई राज्यले स्थानान्तरण गरेर उपेक्षा गरेको उनीहरुको तर्क छ। र त उनीहरुका दुखका दिन सकिए भन्दा पनि सुखका दिन खोसिए। राज्यले अनागरिक बनाएर ‘घर न घाटको’ बनाएको पीडा ओकल्दै छन् राउटेहरु।
जनताको जिन्दगी सुधार्ने अधिकार राज्यलाई भए पनि बिथोल्ने अधिकार नभएको राउटेहरुलाई नजिकबाट नियालिरहेका मानवअधिकारीकर्मीहरुले बताउँदै आएका छन्।

काठका मालसामान बेचेर नै उनीहरुले जिन्दगीलाई केही भरथेग गरेका थिए। तिनका परम्परागत सीपलाई अझ परिष्कृत गरेर  व्यवसायिक बनाउन राज्यले भूमिका खेल्न नसक्दा उनीहरु समस्याबाट मुक्त हुन सकेका छैनन। ’अहिले भने सबैथोक किन्नु पर्छ, जङ्गलमा खानलाई धेरै कुरा मिल्थ्यो, यहाँ आइसकेपछि सधैँजसो भोकै सुत्नुपर्छ’, यो भनाईले राउटेहरुको वास्तविकता उजागर गरिरहेको भए पनि तिनका बारेमा राज्यले नसोचिदिँदा उनीहरुको विलौना बढ्दै गएकाे छ।

अर्कोतर्फ अब उनीहरुलाई सरकारले दिने भत्तासमेत कम लाग्न थालेको छ। तिनकै भनाईलाई मनन गर्दा सरकारको भत्ताको भरमा राउटेहरुको नाना र खाना पूरा नहुने देखिएको छ। ‘सरकारले दिने भत्ताले खान लाउन पुग्दैन, केही जागिर भए घरसमेत बनाउन सकिन्थ्यो’, बडसिंहले सुनाए।

अन्य सम्बन्धित समाचार:  न्युयोर्कमा भयानक आँधी, एकको मृत्यु 

गाउँमा बसोबास गरिसकेपछि सामुदायिक वनले जङ्गल भित्रै जान नदिएको अर्को पीडासमेत बोकेर बाँचेका छन् राउटेहरु।
त्यसैले त उनीहरुका वर्षौँदेखिको हाते सीप मासिने अवस्थामा पुग्दासमेत सहनुको विकल्प छैन।

समाजमा स्थापित गर्ने उद्देश्य राखेर जंगलबाट स्थानान्तरण गरिएका राउटेकाे भूगोल फेरियाे तर जीवन फेरिएन। बस्ती छेउछाउका मानिसहरुले समेत आफूहरुलाई हेयको दुष्टिले हेर्ने गरेको खिन्नता उनीहरुमा छाउन थालेको छ। याे गाउँले जीवन भन्दा जङ्गलमै राम्रो लाग्छ’, बडसिंह राउटेले भने, ‘गाउँमा सबैले हेला गर्छन्, दु:ख दिन्छन्, यो भन्दा त जङ्गल नै रमाइलो लाग्छ।’

अर्कोतफ जंगली युगलाई सदाका लागि छाड्ने सोचाइमा पुगेकाहरुलाई घरी समाजको तिरस्कार त घरी परिवेशले साथ दिएको छैन।
रोपाइँ गरेर धान फलाउने बडसिंहको योजना सिँचाईको अभावले पूरा हुन सकेन। उनले भने, ‘ऐलानी जमिनका ढुङ्गा गिटी पन्स्याएर सानो खेत बनाएको छु, ‘गाडाका अन्नले खानाकी नपुग्दा भ्यालै बस्यो सोभा’ तर खेतमा सिँचाई गर्न समेत गाउँलेले पानी दिन्नन्।’
बडसिंहका अनुसार कामको अभावमा दिनभरी त्यसै बस्नु पर्ने अवस्था छ। घरको आँगनमा बसेर नजिकको जंगल नियाल्नु बडसिंह परिवारको दैनिकी बनेको छ यतिखेर।

यस्तै खाल्लाकै किरीदेवी राउटेको समस्या पनि उस्तै छ। ‘गाउँमा कहीँ कतै गएर केही गरुँ भन्दा त मानिस देखेपछि डर लाग्ने गर्छ। ‘खेतीपाती गर्न जमिन छैन, बाँच्नका लागि फेरि पनि कडिपत्ता बनाएर पैसाको जोडोल गर्छु’, किरीदेवीले सुनाइन्, ‘गाउँमा ल्याएपछि पैसा नहुँदा बच्चालाई इस्कुल पठाउन सकेका छैनम्।’

जङ्गल छोडी गाउँमा आएपछि बसोबास मात्रै परिवर्तन भएका राउटेहरुले परिवार पाल्नकै लागि हिजोआज कडिपत्ता बेच्न थालेका छन्।
यसैबीच कोरोना कहरका बेला सरकारले छुट्टयाएको भत्तासमेत नपाउने हल्ला सुनेपछि उनीहरु थप चिन्तित बनेका छन्।
एक समय कञ्चनपुर जिल्लामा उल्लेख्य रहेका राउटे समुदाय हिजोआज ३ घर मात्र बाँकी छन्।

स्थानीय निकायबाट लोपोन्मुख समुदायका लागि छुट्टयाएको बजेट समेत पहुँचवालाहरुले कुम्ल्याउने गरेका कारण राउटे समुदाय त्यसको मारमा समेत रहेका छन्।