विभिन्न बहानामा रकम ठगी गर्ने ३ जना पक्राउ



काठमाडौं।

विभिन्न बहानामा मानिसहरुसँग रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका-१२ बस्ने २६ वर्षीय रमेश कमर, महोत्तरी, बर्दिवास नगरपालिका-८ बस्ने २१ वर्षीय अनिल बाँनिया र रामेछाप मन्थली नगरपालिका-२ घर भई काठमाडौं जोरपाटी बस्ने ३७ वर्षीय बसन्त श्रेष्ठ रहेका छन् ।

चेक रिपब्लिक पठाइदिने प्रलोभनमा पारी नगद ११ लाख १३ हजार रुपैयाँ ठगी गरेर फरार रहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले कमरलाई काठमाडौं बसुन्धाराबाट पक्राउ गरेको हो । उनले अन्य १५ जना व्यक्तिहरूबाट समेत विभिन्न देश पठाइदिन्छु भनेर १८ लाख रुपैयाँसमेत ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  परीक्षणको दायरा बढाउँदै काठमाडौँ महानगर

त्यसैगरी, बानियाँ र श्रेष्ठलाई सुनको बुद्दमूर्ति बिक्री गर्ने बहानामा ठगी गरेकाे अभियाेगमा महानगरीय अपराध महाशाखाबाट खटिएको टाेलीले उपत्यकाका विभिन्न स्थानहरूबाट बुधबार पक्राउ गरेको हाे। आफूहरूसँग आधा किलो सुनसहितको गौतम बुद्दको मूर्ति रहेको र किन्ने भए २० लाख रुपैयाँमा बेच्छौं भनी १४ लाख रुपैयाँ लिएर फरार रहेका उनीहरूलाई १ लाख ९५ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।

दुवै घटनामा पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर पठाइएको महाशाखाले जानकारी दिएको छ ।