अपहरणमा परेकाे नाटक गर्ने व्यक्ति पक्राउ



 

देवराज सुवेदी, सिन्धुपाल्चोक।

अज्ञात व्यक्तिले अपहरण गरेको भनेर नाटक गर्ने एक व्यक्तिलाई १८ घण्टापछि प्रहरीले पक्राउ गरेको छ। ऋण तिर्न नसकेपछि बाह्रबिसे नगरपालिका वडा नं. ४ का जीवन खत्रीले आफैँ अपहरणमा परेको नाटक गरेका हुन्।

बुधबार बिहान खत्री अपहरणमा परेको सूचना आफन्तले प्रहरीलाई दिएको थियो। अपहरणमा परेको खबर आएपछि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

खत्रीलाई अपहरणको नाटक गरी अफवाह फैलाई समाजमा समेत नकारात्मक प्रभाव पारेको अभियोगमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रज्वल महर्जनले बताए।

बुधबार साँझ ७ बजे सुनकोशी गाउँपालिका-५, यमुनाडाँडास्थित फूपूको घरमा बसिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो।

अन्य सम्बन्धित समाचार:  मेलम्ची पहिरो : पाँचको शव निकालियो

वर्षदिन अघिदेखि गाउँमा कुखुरा पालन गरेर बसेका खत्रीले ऋण सापटी लिएको पैसा तत्काल तिर्नुपर्ने भएकाेमा तिर्न नसकेपछि लाज भएकै कारण यस्तो नाटक गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।