वैदेशिक रोजगार : नेपालीलाई ओमानमा अनुमति, कुवेतमा प्रतिबन्ध



योगेन्द्र योगी, दोहा। कोरोना भाइरसका कारण सबैभन्दा बढी वैदेशिक रोजगार प्रभावित भएको छ। नेपालीहरु कोरोनाका कारण कतिपय विदेशमा कामबाट निकालेपछि अलपत्र छन्। यस्तै चैतयता विश्वभर लकडाउनको लहर चलेपछि लाखौँ नेपालीले वैदेशिक रोजगार गुमाएका छन्।

अधिकांश नेपाली रोजगारका लागि खाडी मुलुक जाने गरेका छन्। तर कोरोनाका कारण खाडी मुलुकहरुले विदेशी नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाउँदै आएकामा अब ओमानले भने नेपालीलाई प्रवेश अनुमति दिने भएको छ।ओमानको कोभिड–१९ सम्बन्धि सर्वोच्च समितिको जुलाई २३ तारिखको निर्णयानुसार ओमानमा कार्यरत रही बिदामा नेपाल गएका ओमानको रेसिडेन्स पर्मिटबाहक नेपालीलाई ओमान फर्कन अनुमति दिएको छ।

ओमानको परराष्ट्र मन्त्रालयको स्वीकृतिमा ओमान फर्कन दिने निर्णय भएको हो। नेपालमा रहेका तथा नेपालको श्रम विभागबाट जारी हुने श्रम स्वीकृतिको म्याद भएको वा पुनः श्रम स्वीकृति लिएका नेपाली अब ओमान फर्कन सक्ने ओमानस्थित नेपाली दूतावासले जनाएको छ। आगामी दिनमा हुने उडानबाट ओमान फर्कन सहजीकरण गर्ने निर्णय भएकाले त्यसरी फर्किनुपर्ने नेपालीको सूची ओमानस्थित दूतावासले तयार गरिरहेको जनाएको छ।

अन्य सम्बन्धित समाचार:  रहवर अन्सारीलाई कोरोना संक्रमण पुष्टि

हाल बिदाका क्रममा नेपालमा रहेका मध्ये ओमान फर्कन इच्छुक नेपालीलाई दूतावासका द्वितिय सचिव सोमेश थापालाई विरण टिपाउन दूतावासले अनुरोध गरेको छ। ओमान सरकारको यो निर्णयसँगै विभिन्न समयमा ओमानबाट बिदामा गएका नेपाली श्रमिकलाई ठूलो राहत मिल्ने भएको छ।

नेपालीलाई कुवेतमा प्रतिबनध

नेपालीलाई रोजगारीका लागि ओमानले अनुमति दिए पनि अर्को खाडी मुलुक कुवेतले भने प्रतिबन्ध लगाएको छ। कुवेत सरकारले अगस्त १ तारिखदेखि नेपालसहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा अनिश्चितकालीन रोक लगाएको हो।

कुवेत प्रवेशमा रोक लगाइएका देशहरुमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स छन्। कोरोना संक्रमणका कारण कुवेत सरकारले बिहीबार उक्त निर्णय गरेको हो। कुवेतमा साढे तीन महिनासम्म बन्द रहेको अन्तर्राष्ट्रिय हवाई उडान अगस्त १ देखि पुनः सुरु हुँदैछ।

अन्य सम्बन्धित समाचार:  सरकार लकडाउनका विषयमा परामर्श गर्दै‌‌

लकडाउनमा कुवेतमा अलपत्र परेका धेरैजसो नेपालीलाई नेपाल सरकारले उद्धार गरेर लगेको थियो। कुवेतले प्रतिबन्ध लगाउने निर्णय गरेसँगै कुवेतबाट नेपाल फर्किने हजारौँ नेपाली श्रमिक समस्यामा परेका छन्।