‘मेडिकल सुपरिन्टेन्डेन्ट’ पदकाे आडमा एक डाक्टरको गलत धन्दा

Prabhu Bank

Sagoon

शम्भू माली, कपिलबस्तु।

Saftey Pads

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निर्देशनको ठाडो उल्लंघन गर्दै सरकारको नून खाएर नीजि अस्पतालमा काम गर्नेहरुको कारण बदनाम छ स्वास्थ्य सेवा। नियुक्ति सरकारी अस्पतालको लिएर काम निजी अस्पतालमा गर्ने एक जना राष्ट्र सेवक हुन् कपिलवस्तु अस्पतालका मेडिकल सुपरिडेन्ट डा. किशोर बन्जाडे।

स्वास्थ्य संस्थाका प्रमुख र कार्यकारी प्रमुखले निजी अस्पतालमा बिरामीको परीक्षण गर्न नपाउने निर्णय छ। तर त्यसको बेवास्ता गर्दै मेसु डा. बन्जाडेले जनताको स्वास्थ्य अधिकारमाथि गम्भीर लापर्वाही गरिरहेका छन्। मेसु बन्जाडेको बारेमा जनस्तरबाट व्यापक गुनासो आएपछि हामीले गरेको स्थलगत रिपोर्टिङमा यस्ताे पायौं।

गएको बुधबार बिहान १० नबज्दै कपिलवस्तु अस्पतालमा उपचार गराउन धेरै बिरामी लाइनमा बसेका थिए। तर अस्पतालका मेसु डा. किशोर बन्जाडे बस्ने कुर्सी १० बजेपछि पनि खाली थियो। कारण बुझ्दा उनी दैनिक १२ बजेसम्म निजी अस्पतालमा उपचारमा संलग्न हुने गरेको सुनिन आयो।

कार्यालय समयमा निजी क्लिनिकमा उपचार मात्रै नभई बिरामीहरुलाई उपचार गराउन आफ्नै क्लिनिकमा समेत बोलाउने गरेको कतिपय बिरामीहरुको आरोप गलत हाेइन भने बन्जाडेलाई मेसुको रुपमा सरकारी जागिर खाइरहने कुनै नैतिक अधिकार नहुनु पर्ने हो।
डा बन्जाडेको दैनिकी हेर्दा उनले सरकारको नून खाएर पेशाप्रति बेइमानी गरिरहेको स्पष्ट हुन्छ।

उनका विरुद्ध उठेका गुनासोको यथार्थ बुझ्न बुधबार बिहान करिब साढे ११ बजेको समयमा सञ्चारकर्मी कपिलवस्तु नगरपालिका वडा नम्बर १ नयाँटोलस्थित बुद्ध क्लिनिकमा पुगे। त्यतिखेर मेसु डा.बन्जाडे क्लिनिकमै बिरामीको उपचारमा व्यस्त भेटिए। त्यसअघि बुद्ध क्लिनिकको काउन्टरमा रहेका कर्मचारीले पनि डा. बन्जाडे क्लिनिकमा बिरामीको उपचारमै व्यस्त रहेको जनाएका थिए।

सञ्चारकर्मीहरुको समूह उक्त निजी अस्पताल पुगेर हेर्दा डा. बन्जाडे र एक महिला स्वास्थ्यकर्मी बिरामीको उपचारमा संलग्न थिए।
सञ्चारकर्मीहरु देख्नासाथ अलमलिएका मेसु बन्जाडे बिरामी जाँच गर्दागर्दै जुरुक्क उठे। लगतै उनले सञ्चारकर्मीहरु समक्ष आफू कपिलवस्तु अस्पतालमा बिदा लिएर बुटवल जाने तरखरमा रहेको बताए। “म बिदामा छु, बुटवल जाँदैछु आज, हिजो मंगलबारदेखि निस्किसक्या छु,’ मेसु बन्जाडेले भने।

उनले त्यति भनिसकेपछि कपिलवस्तु अस्पतालमा पुगेर व्यवस्थापक रत्नाकर शुक्लालाई हामीले आग्रह गर्‍याैँ, ‘डा. किशोर बन्जाडे साढे ११ बजे निजी क्लिनिकमा भेटिए, उनको बिदा सम्बन्धमा केही जानकारी दिनुस्।’ पत्रकारले जानकारी माग्दा आफूले सो विषयमा बुझनु पर्ने भन्दै व्यवस्थापक शुक्लाले भने, ‘माथिल्ला तहका कर्मचारीले बिदा लिएको वा फिल्डमा रहेको हामीलाई तत्कालै थाहा हुँदैन।’ व्यवस्थापकले नै यसो भनिसकेपछि स्वास्थ्य सेवा गर्छु भनेर सरकारी सेवामा प्रवेश गर्ने अनि गैरसरकारी क्षेत्रमा गएर काम गर्ने डा बन्जाडेको गलत कामको बारेमा नजरअन्दाज गर्न हामीलाई गाह्रो भएन।

अन्य सम्बन्धित समाचार:  रुपन्देही कार दुर्घटनामा तीनको मृत्यु

गरिब देशमा जनता स्वास्थ्य सेवा नपाएर दिनदहाडै मरिरहेका छन्, तर देशका कतिपय स्थानमा कार्यरत स्वास्थ्यकर्मीहरुको रवैया हेर्दा तिनका लागि जनताको स्वास्थ्यभन्दा ठूलो पैसा बनिरहेको स्पष्ट हुन्छ। गर्भवती महिला प्रसव पीडाले छट्पटिएर अनाहकमा मर्नु पर्ने बाध्यता एकातिर छ भने अर्कोतिर एउटा सिटामोलकोलागि कोशौं हिँड्नु पर्ने नियतिमा छन् जनता।

मेडिकल सुपरिडेन्टको आडमा गरिब जनताको स्वास्थ्य सेवामाथि अकुंश लगाउने नैतिक अधिकार डा. बन्जाडेलाई नहुनु पर्ने हो। अन्यथा स्वास्थ्य सेवा कौवालाई बेल पाक्यो हर्ष न विस्मात् झै मात्र बन्न पुग्यो भने त्यसले कपिलवस्तुका जनतामा दन्केको मनभित्रको आगो साम्य पार्न सम्बन्धित पक्षलाई मुश्किल हुन सक्छ। अनि भोलि उनीहरुले सरकारी सेवाबाट निस्काशित हुनुपर्ने अवस्थासमेत आउन सक्छ।

डा बन्जाडेको गलत धन्दाको बारेमा उनी कार्यरत कपिलवस्तु अस्पतालका व्यवस्थापकले जतिसुकै ढाकछोप गरे पनि पत्रकारको स्थलगत रिपोर्टिङले उनका गलत कामका बारेमा  दर्जनौँ प्रमाणहरु फेला पारेका छन्।

व्यवस्थापकको काम कार्यालयमा सम्पूर्ण व्यवस्थापन मिलाउनु भए पनि समयमा कार्यालय नआई अन्यत्र काम गर्न जाने मेसुको सम्पूर्ण गतिविधिका बारेमा उनी किन जानकार छैनन्? यसतर्फ पनि प्रश्न तेर्साउन ढिला गर्न नहुने सेवाग्राहीहरुको माग छ।

मेसु बन्जाडेको दैनिक हाजिरी कपी भएको अस्पतालको स्टोर शाखामा पुग्दा त्यहाँ कार्यरत कर्मचारी योगेन्द्रनाथ चौधरीले डाक्टर बन्जाडेले साउन १४ र १५ गते क्याजुअल बिदा लिएको जनाए। बिदा लिनका लागि बन्जाडेले दिएको निवेदन बारे बुझ्दा चौधरीले डाक्टर बन्जाडेले फोनमा भने अनुसार हाजिरीकपीमा आफूले दुई दिनको बिदा चढाएको स्पष्ट पारे। ‘बिदाको लागि कुनै निवेदन छैन, डाक्टर सापले दुई दिनको बिदा चढाइदिनु भनेको आधारमा उहाँको हाजिरीमा दुई दिन बिदा चढाएको हुँ’, चौधरीले बताए।

अस्पतालका मेसु डाक्टर बन्जाडेले अस्पतालमा बिरामीको लाइन लगाई निजी क्लिनिकमा बिरामी जाँच्ने कार्य गलत भएको कपिलवस्तु नगर चेम्बर अफ कमर्सका अध्यक्ष गोपीकृष्ण शर्माले जनाए। ‘बिरामीहरु अस्पतालमा कहिले पालो आउँछ भनेर लाईइनमा छन्। मेसु नै मन्त्रालयको निर्देशन विपरीत नियमित जसो निजी क्लिनिकमा बस्नु गलत हो। मन्त्रालयको निर्देशन अटेरी गर्ने मेसुलाई मन्त्रालय वा सम्बन्धित निकायले तत्कालै कारबाही गर्न आवश्यक छ,’ नगरप्रमुख शर्माले माग गरे।

कपिलवस्तु अस्पतालका मेसुले कार्यालय समयमै निजी अस्पतालमा बिरामी जाँच गरेको विषयमा आफूहरुले प्रारम्भिक जानकारी पाएको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले स्पष्ट पारे। अस्पतालका मेसुले निजी क्लिनिकमा परीक्षण गर्न पाउने व्यवस्था नरहेको स्पष्ट पार्दै यथार्थ छानबिन गरेर स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार प्रचलित ऐन बमोजिम कारबाही प्रकृया अगाडि बढाइने निमित्त प्रजिअ नेपालीले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले भने, ‘अयोध्याबारे भारतीय जनता नै विश्वस्त छैनन्’

प्रदेश ५ को स्वास्थ्य निर्देशनालय निर्देशक डा. विनोद कुमार गिरीले कपिलवस्तु अस्पतालका मेसुले बिदा लिएको विषयमा जानकारी नभएको बताए। ‘लुम्बिनी प्रादेशिक अस्पतालका मेसु सापले बिदा लिने भनेको सुनेको हुँ, तर बिदा लिएको जानकारी छैन’, डा. गिरीले भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन १२ गते परिपत्र जारी गर्दै अस्पताल तथा स्वास्थ्य संस्थामा समेत संस्थाको प्रमुख तथा कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका सबैले निजी प्राक्टिस नगर्ने र यसभन्दा अगाडि निजी प्राक्टिस गर्नुपूर्व स्वीकृति लिएको भए सो स्वीकृति स्वत: खारेज हुने स्पष्ट पारेको छ। त्यसैगरी परिपत्रमा सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफू कार्यरत सरकारी संस्थाको नाम निजी क्लिनिक तथा अस्पतालमा लेख्न नपाउने व्यवस्थाबारे जानकारी गराएको छ।

तर कपिलवस्तु नगरपालिका वडा नम्बर १ नयाँटोलस्थित बुद्ध क्लिनिकमा मेसु बन्जाडेकै नाम ठूला बोर्डमा तीन स्थानमा राखिएको भेटिएको छ।

अस्पतालकै मेसुले मन्त्रालयको निर्देशन विपरीत काम गरेकाे पाइएपछि उनीमाथि कस्तो कारबाही हुन्छ भन्नेबारे स्थानीयहरु उत्सुक देखिएका छन्।

कारबाही माग गर्दै ज्ञापनपत्र 

कपिलवस्तु अस्पतालका मेडिकल सुपरिडेन्टेन डाक्टर किशोर बन्जाडेलाई कारबाहीको माग गर्दै कपिलवस्तुका अगुवा युवाले प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निर्देशन विपरीत निजी अस्पतालमा बिरामी जाँचेको समाचार स्थानीय स्तरमा प्रसारण भएपछि मेसु बन्जाडेको विरोध हुन थालेको छ। मेसुको गैर जिम्मेवार कार्य सम्पादनको विरोध गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी गणेश नेपाली मार्फत प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, प्रदेश ५ का मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीलाई ज्ञापनपत्र दिइएको छ।

कपिलवस्तु अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष विजय प्रकाश जयसवाल, चेम्बर अफ कमर्सका नगर अध्यक्ष गोपीकृष्ण शर्मा, युवा नेता दिपक पाण्डेय, समाजसेवी देवेश जयसवाल लगायतले आफना माग सहितका ज्ञापनपत्र बुझाएका थिए।
निमित्त प्रजिअलाई बुझाइएको ज्ञापनपत्रमा हाल अस्पताल भौतिक पूर्वाधारले सुसम्पन्न भए पनि सेवा प्रवाह फितलो रहेको र सो को कारण मेसु बन्जाडे रहेको ठहर गरिएको छ। मेसुले नै स्वास्थ्य मन्त्रालयको निर्देशन विपरीत निजी क्लिनिकमा गएर बिरामीको उपचार गर्ने साथै अस्पतालका कर्मचारीलाई प्रयोग गरी अस्पतालका बिरामीहरुलाई समेत निजी क्लिनिकमा बोलाई चर्काे शुल्कमा उपचार गर्ने गरेको ज्ञापनपत्रमा आरोप लगाइएको छ।

सरकारको निर्देशन अवज्ञा गर्ने मेडिकल सुपरिन्टेन्डेन्टलाई तत्काल कारबाही गरी अस्पतालकाे सेवा प्रभावकारी बनाउन माग गर्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिइएको छ। ज्ञापनपत्र बुझाएका युवाहरुले अस्पतालबाट प्रदान गरिने सेवा प्रवाहलाई फितलो बनाएर निजी क्लिनिक पोस्न खोजिएपछि मेसुको विरोधमा ज्ञापनपत्र दिइएको आन्दोलतरत युवाले बताए।

Maruti Cement