बारा: निषेधाज्ञा र एक घर एक पीसीआर परीक्षणकाे माग



 

बारा।

समुदाय स्तरमा काेराेना संक्रमणकाे जाेखिम बढेपछि बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकामा निषेधाज्ञा तथा एक घर एक पीसीआर परीक्षणकाे माग गरिएकाे छ। जिल्लामा कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलेर उच्च जोखिम सृजना हुने देखिएकोले जीतपुरसिमरा सार्वजनिक सरोकार समितिले निषेधाज्ञा जारी गर्न तथा पीसीआर परीक्षणकाे दायरा बढाउन नेपाल सरकार र स्थानीय प्रशासनसँग माग गरेको हाे।

सरोकार समितिको सिमरामा शुक्रबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो। बैठकले यस क्षेत्रमा रहेका उद्योगहरुले कोरोना परीक्षणविना नै भारतबाट मजदूर ल्याएर उद्योग सञ्चालन गरेको र छिमेकी जिल्ला पर्सामा समेत निषेधाज्ञा जारी गरेको अवस्थामा त्यहाँ रहेका नागरिकहरु बाराका बजार तथा बैंक र वित्तीय संस्थाहरुमा कारोबार गर्न आउँदा यहाँ पनि संक्रमण फैलन सक्ने सम्भावना उच्च देखिएकाे समितिका संयाेजक मनाेज पाैडेलले बताए।

अन्य सम्बन्धित समाचार:  सुदूरपश्चिममा थप ३३ जनामा कोरोना पुष्टि

यस जिल्लामा निषेधाज्ञा जारी गरी एक घर एक पीसीआर परीक्षण गर्नका लागि नेपाल सरकार र स्थानीय तहसँग जोडदार माग गर्ने निर्णय गरिएकाे संयोजक पौडेलले जानकारी दिए। त्यसका साथै बैठकले सिङ्गो बारा जिल्लामा आईसीयू र भेन्टिलेटर सहितको अस्पताल नभएको अवस्थामा सिमरा, पथलैयामा आईसियू सहितको सुविधा सम्पन्न अस्पताल तत्काल सञ्चालनमा ल्याउन माग गरेको उनले बताए।