खेलाडीको हकहितका लागि संसद्मा आवाज उठाउँछु: सभापति देउवा



काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीको हकहितका लागि संघीय संसद्मा आवाज उठाउने बताएका छन्। गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद(साग) मा स्वर्ण पदक विजेता खेलाडीका लागि पार्टीको केन्द्रीय खेलकूद विभागले आज केन्द्रीय कार्यालय ललितपुरस्थित सानेपामा आयोजित सम्मान कार्यक्रममा उनले खेलाडी देशको गहना र शान भएको उल्लेख गरे।

सभापति देउवाले काँग्रेसको सरकार भएका बेला खेलाडीका लागि आवश्यक पहल गर्ने आश्वासन दिए। विगतमा पनि काँग्रेसले सरकारको नेतृत्व गरेको बेला खेलाडीको हितमा काम गरेको स्मरण गराउँदै उनले खेलाडीले नै विश्वमा नेपालको इज्जत र प्रतिष्ठा बढाएको बताए। आफ्नो संक्षिप्त मन्तब्यमा सभापति देउवाले १३औँ सागमा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेकामा उनीहरुको प्रशंसा गरे। खेलाडीले देशको गौरव बढाउन खेल्ने भन्दै उनले हरेक नागरिक स्वस्थ रहन खेलकूद आवश्यक भएको उल्लेख गरे। काँग्रेस सधैं खेलाडीको पक्षमा रहेको बताउँदै उहाँले केही अप्ठेराहरु भए खेलाडीको पक्षमा लाग्न आफूले सरकारलाई दबाव दिने बताए।

कोरोना भाइरसको संक्रमणका बेला खेलाडी आफु स्वस्थ रही देशलाई नै स्वस्थ बनाउन भूमिका निर्वाह गर्न उनले सम्पूर्ण खेलाडीलाई आग्रह गरे। कोरोना संक्रमण बढ्दै गएकोतर्फ उपस्थित सबैको ध्यान केन्द्रीत गर्दै सभापति देउवाले कार्यक्रम आयोजना गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने बताए। पछिल्लो समय काठमाडौँ उपत्यकामा पनि कोरोनाको संक्रमण बढ्दै गएको भन्दै उनले त्यसप्रति सचेत रहन सबैलाई आग्रह गरे।

अन्य सम्बन्धित समाचार:  विकास मल्ल राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षक

सम्मान कार्यक्रममा राष्ट्रिय खेलकूद् परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले देशको इतिहास बोकेको पार्टी काँग्रेसले खेलाडीलाई सम्झेकामा राखेपका तर्फबाट धन्यवाद दिए। रकम ठूलो होइन सम्मान ठूलो कुरा हो भन्दै उनले देश विदेशमा राष्ट्रिय धुन बजाउन खेलाडीको अहम भूमिका रहेको उल्लेख गरे। सदस्य सचिव सिलवालले खेलकूद ऐन २०७७ ल्याउनु अघि संसद्मा सांसदहरुले पर्याप्त ध्यान र समय नदिएकामा गुनासो गरे। खेलाडीको हकहितका लागि हाल जारी ऐनमा अझै धेरै कुरा गर्न बाँकी रहेको भन्दै उनले आगामी दिनमा सबैले थप छलफल गर्नुपर्नेमा जोड दिए।

सम्मानित खेलाडीका तर्फबाट बोल्दै सागमा करातेमा दोहरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठले कोरोना कहरका बीचमा समेत सम्मान गरेकामा सम्पूर्ण खेलाडीका तर्फबाट आयोजकलाई धन्यावाद दिए। खेलाडी एक्लैले पदक प्राप्त गर्न नसक्ने भन्दै उनले आयोजकले खेलाडीसँगै प्रशिक्षकलाई पनि सम्मान गर्न सुझाव दिए। श्रेष्ठले प्रशिक्षक खेलाडीको आमाबुबा भएको आयोजकलाई स्मरण गराए। पछिल्लो समय सरकारले खेलाडीको भविष्यको सुनिश्चितता र विभूषण प्रदान गर्दा सागमा पदक प्राप्त गर्ने सबै खेलाडीलाई नसमेटेकामा गुनासो गरे। नवौँ सागपछि विभूषण प्रदान गर्ने क्रममा तथा जागिर दिलाउनमा कन्जुस्याइ गरिँदै आएकोप्रति श्रेष्ठले असहमती प्रकठ गरे। पदक जितेको केही महिनासम्म सम्मान गर्ने र पछि खेलाडीलाई सबैले बाई बाई गर्दै आएको परिपाटी चित्त बुझ्दो नभएको उनको भनाइ थियो।

अन्य सम्बन्धित समाचार:  रुपन्देहीमा क्वारेन्टिनमा बसेका युवाले आफ्नै शरिरमा आगो लगाए

काँग्रेस खेलकूद विभागले चार स्वर्ण जित्नेलाई रु २५ हजार, दोहरो स्वर्ण जित्नेलाई रु १५ हजार तथा एउटा स्वर्ण जित्नेलाई रु १० हजार नगद र प्रमाणपत्रसहित खेलाडीलाई सम्मान गरेको हो। सर्वाधिक चार स्वर्ण जित्ने पौडीकी गौरिका सिंहले रु २५ हजार तथा दुई दुई स्वर्ण जितेका करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फ खेलाडी सुवास तामाङले जनही रु १५ हजार प्राप्त गरे।
सागमा एकल र समूहगत रुपमा स्वर्ण जित्ने कूल ८० खेलाडीलाई सम्मान गरिएको हो। गत वर्ष मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन भएको १३औँ सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक प्राप्त जितेको थियो। नेपालले व्यक्तिगत र समूहगत गरी १३ खेलमा स्वर्ण पदक जितेको थियो।