न्यायालयदेखि सामाजिक सञ्जालसम्मका न्यायाधीश

  • प्रेम गैरे


अड्डा अदालतमा मुद्दाहरुको छिनोफानो गर्न बर्षौँ लाग्छ ‍- अचेल न्यायालयमा न्यायभन्दा बढि अन्याय देखेर अदालतको चक्कर काटेर आफ्नोउर्जा,समय र सम्पत्तिको सत्यानाश गर्न त मलाई मन लाग्दैन तर लोकले मानेको र ठानेको कुरा नमान्ने कुरै भएन। त्यसैले न्यायालय ज़िन्दाबादभन्ने नारा लगाउने बेला बिस्तारै अ पहिल्यै भनेर न्यायालय भन्ने बेला जिभ्रो फड्कार्छु मैले। अर्थात (अ)न्यायालय ज़िन्दाबाद !

तर नेपालको कुल जनसङ्ख्यामा केही सोझा-साझा अपवादलाई नगन्ने हो भने, नेपाल न्यायाधीशहरुले भरिपूर्ण देश हो भन्दा अतिशयोक्तिनहोला। प्राय: जसो देशहरुमा अदालतमा मात्र न्यायाधीश भेटिन्छन्। तर नेपालमा त गल्ली, चोक, चियापसल र पान पसलदेखि मन्दिर रमसानघाटसम्म न्यायाधीशहरु विराजमान हुनुहुन्छ।

नेपालमा पाईने न्यायाधीशहरुको वर्गिकरण गर्दा सबैभन्दा बढि पाईने प्रजाति हो पार्टीगत न्यायाधीश जसलाई कसैकसैले हनुमान न्यायाधीश पनि भन्ने गर्छन् तर म भने पवनपुत्र हनुमानको त के तिनीहरुलाई झिंगाको पनि उपमा दिन्न। चल्तीका न्यायाधीसहरु कांग्रेस, नेकपा र वैकल्पिकन्यायाधीश हुन्। न्यायाधीश नभएको ठाउँ कतै छैन। पत्रकार पनि त कलमवीर न्यायाधीश हो नि – सूचनाको ठाउँमा फैसला छाप्ने, कानुनभन्दामाथि यिनीहरु पनि छन्। त्यसमा पनि दक्षिणतिरका न्यायाधीशका फैसला त कानकै जाली फुट्ने गरी चर्का – धन्न बेलैमा कान कपासले थुनियो।त्यस्तै टोल-छिमेक पिच्छे नै फैसला सुनाउने कोई न कोई त हुन्छन् हुन्छन्, तिनलाई कुन वर्गमा राख्ने?

सूचना र प्रविधिको विकासले अहिले नयाँ प्रजातिका हाईबिरिट न्यायाधीशको उदय भएको छ: सामाजिक सञ्जाले न्यायाधीश ! बडो गर्वकासाथ एउटा कुनामा बसेर फेसबुक स्टाटस, लाईभ, । टिकटक, ट्विटर आदिबाट फैसला सुनाईरहेका हुन्छन्। जसका लागि साहित्य, समाज, राजनीति, बिकास केही बुझ्नुपर्दैन, बस् कसैलाई घुमाएर, सोझै या किस्तावन्दीमा दनक दिए हुन्छ। तर कसैको पुच्छर जरुर बन्नुपर्छ। अब तपाईँयो वर्गको न्यायाधीश हो कि होईन भनेर यदि दोधारमा हुनुहुन्छ भने, तपाँईको समस्याको पनि हल छ। कतै नजानुहोला नि फेरि !

‘जता जता न्यायाधीश त्यतै त्यतै उजुरी’ भनेजस्तै हिजो आज उजुरीहरु सञ्चार माध्यम र सञ्जालमै बढि आउने गरेका छन्। दिपाश्रीनिरौलाजीको ‘महानायक को ?’ भन्ने उजुरी, साम्राज्ञी राज्यल़क्ष्मीको सेक्स हर्यासमेन्ट लाईभ उजुरी लगायत विभिन्न उजुरीहरु तपाईँ हामी सामुपरिरहेकै थिए, वादी र प्रतिवादी बिच अझै पनि घमासान बहस चलिरहेकै छ, तपाँई आफू न्यायाधीश हो कि होईन भन्ने कुरा यस्ता अवसरमाफैसला सुनाउनु या नसुनाउनुमा निर्भर रहन्छ। तपाई कुन दल र बलको न्यायाधीश हो भन्ने कुरा तपाईँको पोस्ट्याई हेरेर पुष्टि भईहाल्छ।कहिलेकाँही त म पनि न्यायाधीश नबनेको कहाँ हो र ? कस्तो हुँदो रच यो करिअर भनेर चेक गर्नलाई एउटाको पक्षमा फैसला त सुनाएँ तरमहाअभियोगको डरले मुटुले घर छाडेसी चटक्कै छोड्देँ मैले।

न्यायाधीशहरुको ईतिहास खोज्दै जाँदा पञ्चायतकाल देखि नै नेपालमा शिशुको सट्टा न्यायाधीशको जन्म हुन थालेको हुनसक्ने प्रारम्भिकअनुमान यो पङ्क्तिकारको छ। उ बेला राजाका कारण न्यायालयमा अनुचित प्रभाव पर्ने फैसला गरेर नै न्यायालय भन्दा पनि न्यायाधीश जन्माउनेरणनीति नेपालले अख्तियार गरेको देखिन्छ। तर गणतन्त्र पश्चात् पनि राजाकै बिडो थाम्नेहरु सत्तामा पुगेपछि न्यायालय तङ्ग्रिने कुरै भएन।न्यायालयको उँचाई बढाउने क्याल्सियम आविष्कार गर्ने न्यायाधीश अहिलेसम्म पनि जन्मेको छैन।

न्याय निरुपणको विधा अहिले निकै फराकिलो बनेको छ। आफ्नो साथीले गरेका, सहकर्मीले गरेका, आफन्तजनले गरेका सबै कुरा न्यायसंगतहुने नेपाली समाजको नजीर हो। आचरणको आधारमा न्याय गर्नु यथास्थितिवादी र पश्चगामी हुन्छ भनेर ‘निकटता र आफन्तवादको सैद्धान्तिकधरातललाई पक्डेर न्याय गर्ने’ क्रान्तिकारी आविष्कार नेपाली समाजले गरेको छ।। समय अनुसार फेरिनु पनि त परो नि, एक्काईसौँ शताब्दीमा ! कि सँधै गोर्खे युगमै पुगेर राम शाहको न्याय खोज्ने हो?

आफन्तजनको न्याय र रक्षा गर्ने हेतुले सिर्जित न्यायाधीश र अदालतहरुले गर्दा नै न्यायाधीशको सङ्ख्या बृद्धि भएको हुनुपर्छ। मेरो आफन्तलाईन्याय दिलाउन म न्यायाधीश बन्दै गर्दा प्रतिवादीला‌ई न्याय दिन उसका आफन्त न्यायाधीश बन्नु परो कि परेन ? कुरा सिम्पल छ नि ! नेपाल त्यसैन्यायाधीशमा विश्वको दोश्रो धनी मुलुक बनेको हो?

न्यायाधीशको उदीयमान मागलाई मध्यनजर गर्दै, नेपालले सांसदको चुनावबाटै न्यायाधीश निर्वाचित गर्ने नयाँ ‘थ्योरी’ प्रतिपादन गरिसकेको छ।यो सिद्धान्त कार्यान्वयन गर्ने विश्वकै प्रथम प्रधानन्यायाधीश श्रीमान् खड्ग प्रसाद ओली हुनुहुन्छ। उहाँ दिन दिनै ईजलास गर्दै बस्नुहुन्छ, उहाँ नैपेशी तोक्नुहुन्छ। बेला बेलामा वकिल र बेला बेलामा न्यायाधीशको भूमिकामा उहाँले आलोपालो गर्ने भद्र मनस्थिति बनाउनुभएको छ। नेकपाबेन्चका हस्तीहरु काण्डको किस्तीमा डुब्ने बित्तिकै सफाई दिने फैसला चोलेन्द्र शमसेरले सुनाएका हुन् र ? कुरा गर्नुहुन्च !

न्याय निरुपणमा हस्तक्षेप गर्न वैकल्पिक न्यायालय सुरु गर्नुभएका नव-न्यायाधीशहरुको फैसला, ‘ठिक त ठिक तर यो तालले सक्दैनन्’ मा मात्रसिमित भयो। सिकारु न्यायाधीश भएकाले उहाँहरुका फैसलाका पूर्णपाठ भने आम न्यायाधीशले देख्न पाएका छैनन्। भागैपिच्छेकान्यायाधीसमा फुच्चे न्यायाधीशहरु कुहिरोको कागजस्तै हराईरहेका देखिन्छन्। हाम्रै जीवनकालमा ठेलीका ठेली फैसला कहिले देख्न-सुन्नपाईएला ? हे पशुपतिनाथ ! धैर्यधारण गर्नै गार्‍ह्रो भयो। अझै कति कुर्नु ?

न्यायाधीशको बाहुल्यता रहेको नेपाली समाजमा अहिले गैर न्यायाधीशको प्रजाति भने लोप हुने खतरामा छ। त्यसैले सबैलाई दुई हात जोडेरनिवेदन गर्न चाहन्छु, “श्रीमान ! म जस्ता लोपोन्मुख प्राणीको सुरक्षार्थ कृपया तपाँईहरु पनि न्यायाधीशको भूमिकाबाट तुरुन्त राज्नाम दिनुहोस्।” नत्र देश पूरै न्यायाधीसमय हुनेछ, त्यो बेला कसले कसलाई न्याय दिने? राज्नाम दिने नदिने आगे यहाँ कै मर्जी।

(स्पष्टिकरण : महिला न्यायाधीशलाई पनि श्रीमान् नै भनिन्छ त्यसैले छुट्टै सम्बोधन नगरिएको हो, कृपया पितृसत्तात्मक सोचाई बोकेकोपुरुषवादी करार गरेर फैसला नगरिदिनु होला।)

-भरतपुर चितवन