बेलौरीमा श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

  • महेन्द्रनगर 


कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गएराति धारिलो हतियार प्रयोग गरी अज्ञात समुहले ५५ बर्षीय बेलु खातीको हत्या गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै उनका श्रीमानलाई हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको घटनास्थलबाट जानकारी दिए।

उनले अज्ञात समुहकै आक्रमणबाट हत्या गरिएका बेलु खातीका श्रीमान ६२ बर्षीय घनश्याम खाती गम्भीर घाइते भएको बताए। “गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाएका छौं।” प्रवक्ता थापाले भने–“घटना खाती परिवारको घरमै मध्यरातमा घटाएको देखिन्छ।”

उनले घटनाको अनुसन्धान भइरहेको बताउँदै सुक्ष्म अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको जानकारी दिए। प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश खाती र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ।

अन्य सम्बन्धित समाचार:  जिउँदो हुने विश्वासमा पाँच दिनसम्म पाष्टरको घरमा शव

“सोधपुछका लागि छोरासहित दुई जनालाई नियन्त्रणमा लिएका छौं।” थापाले भने–“घटनाको सुक्ष्म अनुसन्धानका लागि प्रहरी परिचालन भइसकेको छ।”