उनको पाइला रोकिने छाँटकाट छैन, निरन्तर बढ्दै छ…

Prabhu Bank

 

Saftey Pads

भावना पौडेल,डडेल्धुरा।

युवा हुँदै गएपछि एउटै चिन्ता हुन्छ, भोलि के गर्ने कसो गर्ने? त्यसैले त युवाहरुमा बढेको बेचैनीले जीवनलीला समाप्त समेत पारेको कैयौं समाचार आए। तर जो जिन्दगीमा आउने सानातिना उल्झनहरुलाई सामना गर्दै अघि बढेका छन् तिनले नै सफलताको शिखर चुमिरहेका छन्।

ती मध्येका एक हुन्, डडेल्धुरा अजयमेरु गाउँपालिका–३ मगराउँका सुरेन्द्रबहादुर चन्द। उमेरले ३७ वर्षमात्र टेकेका सुरेन्द्रले गरेको कठोर संर्घषले नै उनलाई सफलता दिलाएको छ।

त्यसो त साथीभाइ पासपोर्ट बनाउने चक्करमा हिँडिरहँदा सुरेन्द्रले केही गर्ने सपना बुने। कतिपय साथीहरु विमानमा उडिरहँदा उनले स्वदेशमै बाख्रापालनको थालनी गर्न दौडधूप शुरु गरे।

गाउँघर छाडेर भारतका कतिपय शहरमा काम गर्न जानेको कित्ताबाट फरक जीवन बाँच्न खोजे। उनले गाउँबाट खाडी अनि भारत नै जाने धेरै साथीहरुलाई बिदाइको हात हल्लाए।

तर तीमध्ये कति फर्केर आए कति उतै हराए। ती सबैको लेखाजोखा उनीसँग त्यति धेरै छैन। तर विदेशिएका साथीभाइले अर्काको देशमा पाएको सास्ती सुनेका सुरेन्द्रको मनमा भित्रभित्रै कुनै पनि हालतमा विदेश जान्न र जसरी पनि देशमै केही गर्छु भने इच्छा शक्ति थपिँदै गयो।

उनले फर्म दर्ता गरेर आधुनिक खोरमा व्यवस्थित रूपमा ५२ गोटा बाख्रा पाल्न सुरु गरे। ‘पहिले हामी भैँसी गोठसँगै केही गोटा बाख्रापालन गर्ने गर्दथ्यौँ, जसबाट सामान्य घरमा चाहिने नून तेल खर्च आउँथ्यो’, उनले भने, ‘पछिल्लो ७ वर्षयता मैले आधुनिक खोर बनाएर ५२ गोटा बाख्रा पालेको छु।’

सुरेन्द्रलाई आफूले पालेको बाख्रा बिक्री गर्न समस्या छैन। सुदूरपश्चिमका पहाडी जिल्लाहरु उनको प्रमुख बजार हो। त्यसो त घरमै व्यापारीहरू आएर किनेर लाने गरेको पनि उनले सुनाए।

अन्य सम्बन्धित समाचार:  विश्वभर कोरोनाबाट मर्नेको संख्या १० लाख नाघ्यो

बाख्राको हेरचाहमै सुरेन्द्रको अधिकांश समय बित्ने गरेको छ। शनिबार एकदिन फुर्सद निकाल्ने उनी अघिपछि घरी जंगल त घरी पाखापखेरा गरिरहेका हुन्छन्।

सुरेन्द्रले बाख्रापालनलाई नाम समेत दिएका छन्। दर्ता कै क्रममा राखेको मिलन पोल्ट्री तथा बाख्रापालनले उनलाई आर्थिक प्रगतिको बाटोमा हिंडाइरहेका छन्। उनको पाइला रोकिनेभन्दा पनि निरन्तर बढ्दै गएको छ।

अरुको काम हेरेर मक्ख पर्ने तर केही नगर्नेहरुका लागि पनि र केही गर्न चाहनेहरुका लागि पनि उनी एक उदाहरण बन्दै गएका छन्। भित्रभित्रै दंग छन् उनी। ‘छिमेकी जिल्ला डोटी, बैतडी, बझाङ, दार्चुला लगायतका स्थानबाट मेरो फर्म हेर्न मान्छे आँउछन्’, सुरेन्द्रले सुनाए।

यही बाख्रापालनबाट उनले वार्षिक बैंककाे ब्याज तथा ३ छोराको पढाइ खर्च र घरखर्च कटाएर २ लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन्। ‘९ लाख रुपैयाँ बैंकबाट र ५ लाख रुपैयाँ गाउँबाट गरी १४ लाख कर्जाको ब्याज, छोराहरुको पढाइ खर्च, घरखर्च सबै कटाएर वार्षिक २ लाख आम्दानी हुन्छ’, चन्दले भने।

२८ रोपनी जमिनमा विभिन्न जातका घाँस लगाएका चन्दले बाख्रालाई चरन क्षेत्र प्राप्त भए पनि भिटामिन भएको घाँस तथा बधुवा प्रणालीमा बाख्रापालन गर्न घाँसखेतीको पनि सुरुवात गरेको सुनाए।

घरका अन्य सदस्यको साथ उनलाई भएकै कारण उनले सफलताको सिंढी चढ्दै गएका छन्। जिन्दगी भर साथदिन्छु भनेर भित्रिएकी श्रीमती नै आफ्नाे सफलताको कडी भएकाे बताउँछन् सुरेन्द्र। दुवैले मिलेर काम गर्छन्। श्रीमती हेमाले भनिन, ‘कहिले म कहिले उहाँ (श्रीमान) बाख्राको गोठालो जाने गरेका छौँ। समस्या त केही छैन। कहिले कर्जाले पिरोलेको छ जस्तो लाग्छ अनि फेरि बाख्रा बिक्री हुने बेला पिरलो सकिन्छ।’

अन्य सम्बन्धित समाचार:  चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

व्यवसाय विस्तार गर्ने सोच पनि छ सुरेन्द्र दम्पतीकाे। हेमाले थपिन, ‘अहिले हामीलाई केही ऋण छ, हटाउन पाए राम्रो हुन्थ्याे।’

बाख्रापालनकै लागि घरमा दाना मिल, घाँस कटिङ गर्ने मसिन, माउ बाख्रा, बोका, पाठापाठी छुट्टाछुट्टै राख्ने व्यवस्था गरीएको छ। बाख्रापालनका लागि उपयुक्त हावापानीका साथै चरिचरनका लागि पर्याप्त जंगल क्षेत्र भएकाले उनको बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ।

स्थानीय सरकारको सहयोगका कारण पनि सुरेन्द्रले आर्थिक रुपमा सबल हुने मौका पाए। अब अजयमेरू गाउँपालिकाले कामकै लागि अर्काको मुलुकमा रगत र पसिना बगाउन जानेहरुलाई पनि सहयोग गरेर आर्थिक बाटाहरु पहिलाउन सक्ने बनाउन आवश्यक छ।

रोजगारीका लागि लाखौँ लगानी गरेर विदेश जानुभन्दा आफ्नै देशमा केही गर्ने हो भने कमाउन सकिन्छ भन्ने बलियो प्रमाण धेरैले दिँदै गएका छन्। यही कुरालाई सुरेन्द्रले पनि थपे, ‘आधुनिक तरिकाले विभिन्न व्यवसाय गरेमा युवाहरू विदेश पलायन हुनुपर्दैन’, उनले भने, ‘आफूले गर्न लागेको पेसाबारे ज्ञान हुनुपर्छ, लगनशील भएर लाग्नुपर्छ।’

सरकारले बेरोजगार तथा गरिब युवालाई सिपमूलक तालिमको व्यवस्था गरे युवाले रोजगारीको खोजीमा विदेशिनु नपर्ने उनको बुझाइ छ। हरेक स्थानीय तहले युवाका लागि सिपमूलक तालिमको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ।

Maruti Cement