कामरेट! म कसरी अयोग्य भएँ?

  • आरपी गाउँले

हाओ कामरेट !
उहिले पचपन् सालतिर
सिस्ने कान्छाको भे (विहे) मा
च्याब्रुङ बजाउँदा बजाउँदै
वर्गीय समानताका ग्रिनेट र माइण्ड बोकेर
तीन दिनकी सुत्केरी स्वास्नीलाई छोडी
जङ्गल पसेको म:
तपाईँको चितुवा
उर्फ पूर्व किराँत प्रदेश लिम्बूको छरा (छोरा)
रमिते जेठा किराती !

तिमीलाई बचाउँदा
गोलीले दाहिने आँखा फुट्यो
र पनि लडिरहेँ युद्ध योग्य भएर
तर तिमी वर्गीय युद्धको बिचैमा
राज्य बागडोर परिवर्तनको नाउँमा
फूल माला र अबिरले
मुठ्ठी कसेर उचाल्दैथ्यौ दाहिने हात
त्यति बेला हामीचन्
मिसिनगनका गोलीले उछिट्याएका
मुटु र अन्तिम सास फ्याँक्दै गरेका फोक्साहरूलाई
एक एक थुङा फूलबिनै
माटोको कसम खाएर दिँदैथ्यौँ श्रद्धाञ्जली
अपाङ्ग शरीर घिसारेर
परिवर्तित नयाँ नेपाल नाउँको
पूर्वी किरात प्रदेशतिर !

हो कामरेट !
त्यो बेला पनि योग्य नै थियौं हामी
मेचीमा धराप थाप्न पठायौ
दाहिने हात गोलीले चुँडियो
युद्ध अयोग्य भएन
महाकालीमा विजयोत्सवको झण्डा गाड्न जाँदा
नाइट भिजनले झारेका बमले
भाँचिएको खुट्टा घिसार्दै
तिमीलाई बुई बोकी कुदाउने
‘केप्टेन वीर्ख बहादुर किराँती’ को छोरा
ब्रिटिस भर्ती लाग्न छोडेर
तिमीलाई बँचाउने प्राणी मै हुँ
त्यो बेला मेरो शरीर अ-योग्य भएन
तर तिम्रा छाती ताकेर आएका
गोली छेकिदिने म किराँतको छोरो
कसरी अ–योग्य भएँ हाओ सारखार?

महान् जनयुद्धको ऐतिहासिक घडीमा
तिम्रो जीउँ ज्यान जस्ताको त्यस्तै
राज्य बागडोरको द्वारभित्र लगाएर
कहिले अपाङ्ग र सपाङ्ग बाँचेको
हिरोसिमा म चाहिँ
कसरी अ–योग्य भएँ कामरेट ?
तिमी व्यक्तिगत स्वार्थमा लागेर
महान् कहलिँदा
तिम्रो महान्ता योग्य हुँदा
सिङ्गो राज्यसत्ता बदल्ने हामी
किरातको शरीर कसरी अ–योग्य भो?

यदि अ–योग्यहरूले लडेर
बदलिएको मुलुकमा
कसरी तिमी चाहिँ
मुलुक हाँक्ने योग्य र महान् बन्यौ कामरेट ?
अ–योग्यहरूको सन्दर्भमा भन्ने हो भने –
कैयन् हामी जस्ता अ–योग्य हुँदा
तिमीहरूले हाँकेको राज्यसत्ता
र तिमी पनि अ–योग्य नै हुनुपर्ने
होइन र महाशय ?
त्यसैले म तिम्रो जीवन रक्षाका निम्ति
छातीमा गोली थापिदिँदा अ–योग्य भएँ
तिम्रो इतिहाँस योग्य भयो
तर तिम्रो इतिहाँस बनाइदिने हामी
कसरी अ–योग्य इतिहास भयौँ ?