कविता: कलम र शनिबार

  • इन्दु धामी, महेन्द्रनगर

हरेक शनिबार
निकै व्यस्त हुने गरेको छ कलम
मिर्मिरे उज्यालोमा
लरकिदै धरकिदै
स्वार्थको तीर्थ यात्रामा
पार्कर कलमहरू
चिल्ला गाडीमा
बहुमूल्य कोटको खल्तीमा
चिटिक्क सजिएर
निस्किन्छ कलम।

एक थान कलम
समर्पणको मुद्रामा
कुर्सी कलमका
भजन मण्डलीमा
थपडी सूचक
टाउको हल्लाउँदै गर्दा
गुजगुज मसी छादेको
पसिनाको भेलजस्तै
अनेक नामका
मसीका बोतलमा
चाप्लुसीको नशा मिसिएर
पवनपुत्र मुद्रामा
परिक्रमा गर्दै गरेका छन्।

चोया कलमहरू
तुषारोमा कक्रिदै
तुवाँलोमा झोक्र्याउँदै
चरणामृत प्राप्तिको आशामा
सुल्तान झैं झुल्किन्छन्
खादाले बेरिएर
मालाले चेपिएर
महङ्गो कलम संघको
अध्यक्ष बनेर।

धेरै धेरै कलम
शिसाकलम
डटपेनहरू
निव भाँचिएका
मसी सकिएका
भुत्ते भएका
तर पनि सिंगारले सजिएका
उछिन्ने होडमा
तछाड मछाड।

हरेक गौडा र कोठामा
लेख्ने मझेरी
मझेरीमा रमणीय तामझाम
सिर्जनाका तरंग उछाल्ने नाममा
बिज्ञापनको नयाँ
प्रयोगशाला बनाईँदै छ
कलम र कापीको
मानक तय हुदैछ कतै
मानक चुडिहाल्ने हुंकार छ।

मेरो लाटो कलमलाई
आश्वासनको मसी दिएर
कोराइएको मंगल गानमा
सजिएको मलमली कार्पेटमा
बरदान दाता कलम पूजनमा
आनन्दित छन्,
तर, बोधा कलमहरू
उहिलेका जिम्माल कलमजस्तै,
हरेक शनिवार।

भाले कलम
र पोथी कलमहरूको
अनौठो जाल पनि छ
अनौठो उपहार शैली छ
बेग्लै मसीको मादकतामा
लठ्ठिने उन्मादमा
सियो कलमलाई
घोर्ले कलम बनाउने
झार कलमहरूको निरंकुशता छ,
लुरे कलम चेपिदै छन्।

जागिरे कलमको
गोडाको पानीले
आमा कलम
छोरा कलम
बाउ कलम
छोरी कलम
अभिषेक पाउने होडमा
एक पित्को उपहार थाप्ने लोभमा बस्छन्।

झिल्के कलम
नेता कलम
धनी कलम
प्रचार कलमको
दर्शन भेटमा फुर्किने कलमहरू
भात कलम
स्वार्थी कलम
भ्रष्ट कलम
झण्डा कलमहरुको के कुरा गर्नु?
झण्डाको फोटो लुकाएर
कलम मात्रको अनुहार देखाउने
कृत्रिम प्रयोजन गर्दैछन्
प्रश्न सोध्ने शिसा कलमलाई
बिचैमा भाँचिदिने अघोषित धम्की
अनि मिश्रित सुझाव दिदैछन्।

सामर्थ्य कलमको
काल्पनिक स्वयंवर परिक्रमा
असमानताको कागजमा
निर्धक्क ओकल्ने समय आएको छ
कलमले कलमको
विलासिता दारिद्र्यता
चाटुफकारिता
योग्यताको तक्मा दिने
शकुनीपनको बिरुद्ध
शब्द वाण चलाउनु
चुनौती बनेको छ
केवल शनिबार॥