नेपालमा कहिले आउला कोरोना खोप?

  • अरुण चन्द्र भट्टराई

गत बर्ष डिसेम्बरमा चिनको वुहान सहरमा पहिलो पल्ट देखिएको नोबल कोरोना भाईरस (कोविड-१९) आजको दिनमा संसारभर भुसको आगो झैँ फैलिरहेको छ। त्यसो त चिनका प्रतिस्पर्धी मुलुकहरुले चिनले नियतवस उक्त भाईरस फैलाएको आरोप पनि लगाए। तर कहाँबाट र कसरी भाईरस मानव जीवन नै संकटमा पार्ने गरी महामारीको रुप लिदैँ विश्व आजको विकराल अवस्थाबाट गुज्रदैछ भन्ने तथ्य रहस्यमयी नै छ।

चिन संगसंगै विश्वका अन्य मुलुकमा पनि फैलिसकेको उक्त नवीन भाईरस चिनले पहिलो पल्ट पत्ता लगाएको पनि हुन सक्ने अड्कलवाजी भईरहेको छ। कतिपय पश्चिमा मुलुकले चिनमा भाईरस फेला परेर संकटको सामना गर्दै गर्दा खिसीट्युरी पनि गरे। चिनको अर्थतन्त्र अस्तव्यस्त हुने र आर्थिक रुपमा पछि पार्न उक्त भाईरसले निम्त्याएको संकटले सहजीकरण गर्ने अनुमान गरे। अहिले तिनै मुलुकले चिनमा करीब नियन्त्रणको चरणमा पुगिसकेको भाईरसको सामना गर्न संघर्षरत छन्।

आफ्नो मुलुक स्वास्थ क्षेत्रमा अब्बल भएको दावी गर्ने अमेरिका, वेलायत, क्यानडा, रुस, नेदरल्यान्ड जस्ता मुलुक पनि उक्त अदृश्य भाईरसको नराम्रो चपेटामा छन्। अल्पविकसित र विकासोन्मुख मुलुकहरुको पनि अवस्था उस्तै छ। जसमध्ये नेपाल पनि एक हो।

विज्ञान प्रविधि र खोज अनुसन्धानमा अब्बल कहलिएका ठूला शक्तिशाली राष्ट्रहरु र आर्थिक रुपले विपन्न मुलुकले खेपेको अहिलेको समानता भनेको कोभिड-१९ संक्रमितको पहिचान र थप संक्रमण रोक हो भने भिन्नता भनेको विकसित राष्ट्रले यसको खोप(औषधि) बनाउन जनशक्ति र स्रोत साधनमा भरपुर लगानी गर्नु , परीक्षण गर्नु हो भने अन्य मुलकले यसप्रति लगानी गर्न सक्रियता नदेखाउनु देखिएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा क़रीब २०० भन्दा बढी खोपको विकास र अनुसन्धानको चरणमा छन् भने ती मध्ये कम्तिमा २४ वटा मानिसमा परीक्षण भईरहेका छन्। अहिलेको समयमा विकसित मुलुकहरु बिच अर्को अदृश्य प्रतिस्पर्धा भनेको कोभिड-१९ विरुद्धको खोप आविष्कार गर्नु हो।

शक्तिशाली बन्ने होडमा मानव संरचना र मानव चोला नै ध्वस्त पारेका ठूल्ठूला विश्व युद्द( जहाँ लाखौं मानिस मरेका थिए) खेपेर आएको आधुनिक विश्वमा आज मानव कल्याणका निम्ति उपयोग हुने खोप आविष्कारको लागि प्रतिस्पर्धा हुनु भनेको आफैंमा गरिमाको विषय हो।

अन्य सम्बन्धित समाचार:  एक सय ६५ सांसदले कोरोनाको खोप लगाए

उक्त भाईरस विरुद्दको खोपमा शक्ति सम्पन्न अमेरिका, चिन, अष्ट्रेलिया, बेलायत, जर्मन आदि राष्ट्रहरु सरकारी र गैरसरकारी लगानीमा ठूलो धनराशी खर्च गरिरहेका छन्। यसै विचमा गत अगष्ट ११ मा रुसले स्पुतनिक-V नाम दिएर एउटा खोपलाई स्वीकृति दिएको विषयलाई निकै चासोका साथ हेरिएको छ।

यद्यपि उक्त खोपलाई परीक्षणका आवश्यक चरणहरु पार गर्न लाग्ने न्यूनतम समय र मापदण्डप्रति शंका गर्दै विश्व स्वास्थ संगठन लगायत जर्मनी, फ्रान्स, अमेरिकाले भने सन्देह व्यक्त गरेका छन्। तर राष्ट्रपति भ्लादिमिर पुटिनले भने एक समारोहको आयोजना गरेर उक्त स्पुतनिक-V नामक खोप स्वीकृत गरेको घोषणा गरे। राष्ट्रपति पुटिनकी छोरीलाई दिईएको भनिएको उक्त खोप मानव परीक्षणको तेस्रो चरण अगावै संसारका अन्य थुप्रै राष्टहरुले करोडौं डोज प्रि-अडर गरिसकेका छन्।

नेपालको पहूँचमा कहिले आउला खोप?

नेपाल र नेपालीको लागि सवाल न त रुसले कसरी यति तीब्र गतिमा खोप बनाउन सफल भयो भन्ने हो न अब कुनु मुलुक सफल होला भन्ने नै। अहिलेको अवस्थामा नेपालीका लागि एउटै सवाल भनेको अन्तर्राष्ट्रिय निकाय कोरोना विरुद्धको खोप विकासमा सफल भयो भने नेपालमा कहिलेसम्म उक्त खोप भित्रिएला भन्ने हो, चाहे खोप जुनसुकै राष्ट्रले विकास गरोस्।

नागरिकको अर्को एउटै चाहना भनेको स्रोत साधन र जनशक्तिको समान वितरण गरि तीब्र गतिमा पिसीआर टेष्ट गरी संक्रमितको पहिचान र गुणस्तरीय क्वारेन्टिनको ब्यवस्था हो। क्षमता भएर पनि अन्य राष्ट्रहरुले जस्तो खोज र अनुसन्धानमा भएका जनशक्तिलाई पर्याप्त लगानी गर्न नसक्नु नेपालका लागि एउटा मात्र दुर्भाग्य होईन यदि खोपको सफल परीक्षण भई अन्तराष्ट्रिय स्तरमा उपचार हुँदा समेत समयमा नेपाल भित्र्याउन सकिएन भने अर्को ठूलो दुर्भाग्य हुनेछ।  र आजको परिस्थितिमा नेपाल र नेपाल जस्ता मुलुकमा खोपको तत्काल पहूँच पुग्ने अवस्था निकै न्यून छ। यसको एउटै मात्र मूलभूत कारण भनेको नेपालको गरीबी र असक्षमता जसको भागिदार हाम्रा नेतृत्व वर्ग र स्वयम् नागरिक नै हुनुपर्नेछ।

आजको संकटको घडीमा एउटा देशबाट स्वस्थ्य मानिस समेत अर्को राष्ट्रमा प्रवेश गर्न नसक्ने अवस्थामा आर्थिक रुपमा सम्पन्न र सक्षम व्यक्ति भएपनि भोलि कोभिड-१९ को उपचारार्थ अन्य मुलुकमा प्रवेश पाउने र उपचार पाउने संभावना कम्तिमा पनि अहिलेको अवस्थामा असम्भव प्राय: छ, चाहे उक्त ब्यक्ति सम्पन्नशाली, ठूलो व्यापारिक घरानाको या भनौ ठूलै राजनीतिज्ञ नै किन नहुन्। यसबाट हामीले मूलभूत रुपमा नागरिक धनी भएर होईन राष्ट्र धनी भए मात्र गौरवको विषय हुनेछ भन्ने कुरा बुझ्न जरुरी छ। किनभने समृद्ध र विकसित राष्ट्रले मात्रै अन्तराष्ट्रिय स्तरमा सहज पहूँच राख्ने ल्याकत राख्दछन्।

अन्य सम्बन्धित समाचार:  एक सय ६५ सांसदले कोरोनाको खोप लगाए

ईतिहासको कुनै कालखण्डमा नेपाल जत्तिकै आर्थिक रुपले समान मुलुकहरु आज अन्तराष्ट्रिय स्तरमा स्थापित भएका छन् जसलाई अहिलेको जस्तो संकटको सामना गर्न र व्यवस्थापन गर्न हामीलाई जस्तो असहज छैन। तर विडम्बना नेपालको राजनीति कुर्सीको खिचातानी, भष्ट्राचार, कमिसन र अनियमिताको खाडलमा नै रुमल्लिएको छ।

न त सरकार गरीब, विपन्न, असहाय, किसान, मजदूरलाई सरकार हुनुको दायित्वबोध गराउन गम्भीर देखिन्छ न त प्रतिपक्षीले रचनात्मक र प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छ। नेपालको कुनै पनि क्षेत्र- शिक्षा, न्याय, मेडिकल आदि आज दूषित राजनीतिको चंगुलमा नपरेको भन्नु मरुभूमिमा पानी भेट्नु जस्तै भएको छ।

यो संकटको बेलामा सरकारले आफ्नो ठाउँबाट ईमान्दारीता र पारदर्शिताका साथ प्रभावकारी भूमिका खेलेर मानव क्षति कम गर्नुको साटो सामान्य नागरिकको स्वास्थ्यको सवाललाई लिएर ईशान जस्ता व्यक्ति पटकपटक अनसन बस्नुपर्ने अवस्था आउनु नेपाल र नेपालीकाललागि लज्जाको विषय हो। हरेक राजनीतिज्ञ आफ्नालाई रिझाउने र अन्ततः आउने चुनाव कसरी जित्ने भन्नेमा नै केन्द्रित हुँदा भ्रष्टाचार र अनियमिता मौलाएको हो यसले एक दिन राष्ट्रले नै हार्ने दिन नआउला भन्न सकिँदैन।

त्यसैले अब सम्पूर्ण राजनीतिज्ञ र आम नागरिकले एउटा अविकसित र गरीब राष्ट्रको सम्पन्न नागरिक हुनुभन्दा विकसित र सम्मृद्द राष्ट्रको सामान्य नागरिक हुनु कैयन गुणा मुनासिव हुने कुरा बोध गर्न जरुरी छ र नेपालका लागि यदि हरेक मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दा अलिकति विवेक प्रयोग गर्ने हो भने मुलुक संवृद्दिको पथमा लम्किने कुरामा दुईमत हुनेछैन। यसरी मात्र ईमान्दार, दुरदृष्टि र नैतिकरुपमा जिम्मेवार नेतृत्वको विकास हुन्छ।