केही दिन अघिमात्र कोभिड–१९ को भ्याक्सिन दर्ता गरेको रुसले उक्त भ्याक्सिनको उत्पादन सुरु गरेको छ। भ्याक्सिन अगस्ट महिनाको अन्त्यमसम्म उपलब्ध हुने रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
रुसले यो भ्याक्सिनको नाम ‘स्पूतनिक भी’ राखेको छ। रुसी भाषामा स्पुतनिक शब्दको अर्थ स्याटलाइट हो। रुसले नै विश्वको पहिलो स्याटलाइट बनाएको थियो।
खोप दर्ता गरी उत्पादन गरिरहँदा पहिलो हुने होडमा रुसले सुरक्षासँग सम्झौता गरेको आरोप विज्ञहरुले लगाएका छन्।
त्यहाँका आधाभन्दा बढी स्वास्थ्यकर्मीले भ्याक्सिनमाथि विश्वास नभएको बताउँदै नयाँ भ्याक्सिन लगाउन नचाहेको तथ्य रुसमा गरिएको एक स्वतन्त्र अनुसन्धानका क्रममा फेला परेको छ।
यद्यपि, राष्ट्रपति भ्लादिमिर पुटिनले भ्याक्सिन तयार गर्न सबै आवश्यक कुरालाई ध्यानमा राखिएको छ र उनकी छोरीलाई उक्त भ्याक्सिन दिइसकेको जानकारी दिएका छन्।