बारामा पुनः अनिश्चितकालका लागि निषेधाज्ञा जारी

बारा।

जिल्ला प्रशासन कार्यालय बाराले सोमबारदेखि लागू हुनेगरी पुनः अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ। जिल्ला कोभिड समन्वय समितिको निर्णय अनुसार सोमबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। बारामा यसअघि साउन १८ गतेदेखि लागू हुनेगरी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएकोले संक्रमण फैलनबाट रोक्न अनिश्चितकालिन निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको जानकारी दिए। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम बारा जिल्लामा निषेधाज्ञा जारी गरिएको उनले बताए।

प्रशासनले आइतबार जारी गरेको सूचनामा पुरै जिल्लामा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घर तथा कम्पाउन्ड बाहिर निस्कन नपाउने, पर्सा र बारा जिल्ला जोड्ने हुलाकी राजमार्गमा पर्ने सबै स्थानीय तहहरु, कलैया बजार क्षेत्र, पथलैया वीरगञ्ज औद्योगिक करिडोरमा पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हबी, सिम्रौनगढ, बरियारपुर, पचरौता, देवताल, करैयामाई लगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने क्षेत्रहरुमा मानिसको आवागमनलाई पूर्ण रुपमा रोक लगाइएको उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  विदेशमा थप ३ जना कोरोना संक्रमित नेपालीको मृत्यु