इलाममा क्वारेन्टिनमा बसेका युवकको मृत्यु

इलाम। इलामको सूर्योदय नगरपालिकाको करफोकस्थित क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ। सूर्योदय नगरपालिका–९ का २२ वर्षीय युवकको आइतबार राति मृत्यु भएको हो।

उनी गत साउन २६ गते भारतको हैदराबादबाट घर फर्किएका हुन्। क्वारेन्टिनमा बसेका ती युवकमा रुघाखोकी र ज्वरोको लक्षण देखिएको थियो।

उनको उपचार गर्न आइतबार राति चिकित्सक टोली क्वारेन्टिनमा पुगेको थियो। आइतबार राति नै युवकको मृत्यु भएको नगरपालिकाका प्रवक्ता पेमाउग्येन लामाले बताए।

मृतकको पिसिआर परीक्षणका लागि गत साउन २९ गते स्वाब संकलन गरेर विराटनगर पठाइएको थियो। उनको पिसिआर रिपोर्ट भने आउन बाँकी नै छ।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड संसदीय दलको नेता चुनिएकोबारे संसद् सचिवालयलाई जानकारी