जब एम्बुलेन्स चालकले नै कोरोना संक्रमितको स्वाब संकलन गरे…….

दैलेख। दैलेख सदरमुकाम नजिकैको झुप्रेसालस्थित भगवती मन्दिरमा निर्माण गरिएको कोरोना अस्पतालमा आइतबार बिहानै एम्बुलेन्स आइपुग्यो। यहाँ आइसोलेसनमा चार कोरोना संक्रमित आफ्नो स्वाब परीक्षण गराउन पहिल्यै तमतयार भएर बसेका थिए।

एम्बुलेन्सबाट चालक अर्जुन शाही बाहिर निस्किए। निकै बेर भयो। एम्बुलेन्सबाट अरु कोही पनि नझरेको देख्दा कोरोना संक्रमित अचम्मित बने।

यति मात्र होइन, एकै छिनमा एम्बुलेन्स चालक शाही आफैले स्वाब संकलनको प्रक्रिया थालेपछि पछि त संक्रमितहरु अक्क न बक्क भए। एम्बुलेन्स चालक शाहीले जे जे भन्दै गए संक्रमितले त्यही त्यही गर्दै गए। उनीहरुले अरु केही प्रतिक्रिया भने जनाएनन्।

चालक शाहीले हातमा रहेको प्याकेट खोले र पाइप संक्रमितको नाक भित्र हाल्न थाले। पालैपालो चारै संक्रमितको नाकभित्र पाइप हालेपछि उनीहरुको स्वाब संकलनको काम सकियो।

अन्य सम्बन्धित समाचार:  देशभर थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

एकै छिनपछि प्रयोगशालामा गरिने कोरोना भाइरसको पीसीआर परीक्षणका लागि गरिने स्वाब संकलनको काम एम्बुलेन्स चालकले नै गरेको खबर आगो सल्के झैँ फैलियो। यो खबर जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा पनि पुग्यो।

सुन्दा सबै हैरान भए। किनभने जिल्लामा कोरोना संक्रमितको स्वाब संकलनको काम जिल्ला स्वास्थ्य कार्यालयकै प्रत्यक्ष निगरानीमा सञ्चालन हुँदै आएको थियो। सदरमुकाम नजिकैको झुप्रेसालमा यस्तो लापरवाही किन र कसरी भयो भन्नेबारे जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी नै अनविज्ञ छन्।

उनीहरुसित यसको कुनै जवाफ छैन। कोरोना संक्रमितको दोस्रो पटक पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। घटनापछि उनीहरु निकै त्रसित छन्।

‘यसअघि तालिमप्राप्त स्वास्थ्यकर्मीले हाम्रो स्वाब संकलन गरेका थिए’, झुप्रेसालस्थित आइसोलेसनमा बस्दै आएका एक संक्रमितले भने, ‘हाम्रो स्वाब संकलनका लागि एम्बुलेन्स चालकलाई कसले पठायो, थाहै भएन।’

अन्य सम्बन्धित समाचार:  विदेशमा थप ३ जना कोरोना संक्रमित नेपालीको मृत्यु

एम्बुलेन्स चालकले स्वाब संकलन गरेकामा संक्रमितको चित्त दुःखेको छ। ‘यस्तो चरम लापरवाही कसरी भयो ?’ उनीहरुले भने।

जिल्ला स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति थीरप्रसाद रेग्मीले एम्बुलेन्स चालक शाहीले कार्यालयको अनुमति बिना नै कोरोना संक्रमितको स्वाब संकलन गरेको स्विकारे।

‘संक्रमितको स्वाब संकलनका लागि चालक शाही एक्लै कसरी गए, हामी पत्ता लगाउँदै छौँ’ रेग्मीले भने। तालिमप्राप्त स्वास्थ्यकर्मीले नै संक्रमितको स्वाब संकलन गर्नुपर्ने उनले बताए।

स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीको टोली नगएकोबारे खोजबिन गरिने उनले बताए। आगामी दिनमा यस्तो लापरवाही नहुने रेग्मीले बताए।

एम्बुलेन्स चालक शाहीले संक्रमितको स्वाब संकलन गरेको खबर जताततै फैलिएपछि स्वास्थ्य कार्यालय दबाबमा आयो। लगत्तै कार्यालयले डा प्रसन्न नेपालसहित दुई नर्स, एक कार्यालय सहयोगीको टोली झुप्रेसाल पठाएको छ।