काठमाडौँ। सत्तारूढ नेकपाको सचिवालय बैठक सुरु भएको छ। एक महिनापछि बसेको उक्त बैठकबाट केही मुख्यमन्त्री र मन्त्रीहरु फेरबदलको टुङ्गो लाग्ने बताइएको छ।
श्रोतका अनुसार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली केही मन्त्रीलाई जिम्मेवारीबाट हटाउने मनस्थितिमा पुगेका छन्। उनले केही मन्त्रालयलाई आपसमा गाभ्ने योजना समेत बनाएका छन्।
प्रधानमन्त्री ओली सकभर राज्यमन्त्री नबनाउने सोचमा रहेको बताइएको छ। अर्थ मन्त्री डा युवराज खतिवडाको ठाउँमा जनार्दन शर्मालाई जिम्मेवारी दिने सम्भावना छ।
पार्टीको बिबाद समाधान गर्न आजको बैठक केन्द्रीत रहने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्। नेकपाका नेतात्रय झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले सचिवालय बैठकको माग गर्दै आएका थिए।
पार्टी विवादको समाधानका लागि गठन भएको कार्यदलको कार्यादेश निर्धारण गर्न सचिवालय बैठक बस्नु पर्ने उनीहरूको भनाइ थियो। गत साउन ३ गतेदेखि नेकपा सचिवालय बैठक बस्न सकेको छैन।
साउन ३ गतेको बैठकमा मंसिरमा महाधिवेशन गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव राखेका थिए। बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसबारे स्पष्ट छैनन्। त्यसयता नेकपाभित्रको विवाद थप बढ्दै गएको छ।
साउन १३ गते ओलीले एकतर्फी रूपमा स्थायी समिति बैठक स्थगित गरेको भन्दै अर्का अध्यक्ष प्रचण्डले बैठक आयोजना गरेका थिए। शुक्रबार दुई अध्यक्षले विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल बनाएपछि भने नेकपा विवाद समाधानउन्मुख बन्दै गएको छ।
नेकपा महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन्।