काठमाडौं।
अनलाइन ठगी तथा नक्कली मुद्रा कारोबार गरेको अभियोगमा एक विदेशी नागरिक पक्राउ परेका छन्। नेपाली युवतीलाई अनलाइनमार्फत् ठगेकाे आराेपमा राहदानी नम्बर एन ११७९७०१ वाहक एंगोलाका ४८ वर्षीय नागरिक सिल्भा एन्टोनियो डा कोष्टालाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो।
पीडित युवतीले प्रयोग गर्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा कोस्टाले आफूलाई मर्की अरोन नामले चिनाई लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर हो भन्दै ठगी गरेको उनीमाथि आरोप छ। कोष्टाले पीडित युवतीलाई विवाह गर्ने आश्वासन दिँदै ‘हीराको औंठी, घडी, सुनको सिक्री र २ लाख ३० हजार पाउण्ड समेत पठाएकाे र भन्सार छुटाउन र एक्सचेन्ज चार्ज बुझाउन आवश्यक परेकाे’ भन्दै ठगी गरेको प्रहरीको भनाइ छ।
युवतीबाट काेस्टाले पटक पटक गरी ४८ लाख ५४ हजार ४ सय २० रुपैयाँ लिई ठगी गरेको खुल्न आएपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
कोस्टा बसेको ठमेलस्थित होटलको कोठा तलासी गर्दा नेपाली ३ लाख १५ हजार ७ सय ४५ रुपैयाँ, ९ सय अमेरिकी डलर, एटीएम कार्डहरू, पाउडरको बट्टाका साथै १ थान ल्यापटप, नक्कली जस्तो देखिने १ हजार दरका नेपाली ३ थान नोटहरू तथा विभिन्न देशका मुद्रा, नोट आकारको कालो कागजको बन्डल लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ।
प्रारम्भिक अनुसन्धानको क्रममा कोस्टाले अर्की युवतीबाट पनि ३७ हजार रुपैयाँ नगद ठगी गरेको खुल्न आएको छ। कोस्टा २०७६ फागुन २४ गते नेपाल आएको अनुसन्धानको क्रममा खुल्न आएको छ।
प्रारम्भिक अनुसन्धान पश्चात ठगी र खोटा मुद्रा बनाउन नहुने कसूर समेतमा थप अनुसन्धानको लागि बरामद गरिएका सामानसहित कोस्टालाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ। घटना र पक्राउ परेका काेस्टाका बारेमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भएर अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ।