काठमाडाैं।
नेपाल बाहिर रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानमा उल्लेखनीय योगदान पुर्याउने म्यान्मारका ज्ञानबहादुर थापा बगालेलाई यस वर्षको गोपाल पाँडे असीम पुरस्कार प्रदान गरिएको छ। नेपाली शिक्षा परिषद्को ७० औँ वार्षिकोत्सव तथा संस्थापक गोपाल पाँडे असीमको १०८ औं जयन्तीका अवसरमा आज यहाँ आयोजित वेबिनार कार्यक्रममा विविध विधाका स्तरीय कृतिको रचनाबाट नेपाली साहित्यको संवर्द्धनमा विशिष्ट योगदान पुर्याएका वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेलाई आदिकवि भानुभक्त पुरस्कार प्रदान गरिएको छ।
म्यान्मारमा रहेर नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थान
सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले लामो इतिहास बोकेको नेपाली शिक्षा परिषद्ले भाषासाहित्यको उन्नतिका लागि गरेका कार्यको सह्राना गरे। कार्यक्रममा पुरस्कृत व्यक्तित्व बगालेले नेपाल बाहिर रहेर गरेको कार्यलाई मूल्याङ्कन गरी पुरस्कृत गरेकामा नेपालले म्यान्मारका नेपाली भाषीहरुप्रति दर्शाएको सद्भाव र प्रेम झल्किनाका साथै आफ्नो साहित्य, संस्कृति र भाषा सेवाको यात्रामा अझ बढी ऊर्जा प्रदान गरेको उल्लेख गरे।
बगालेले नेपाल बाहिर रहेर गरेको कार्यलाई मूल्याङ्कन
अर्का पुरस्कृत व्यक्तित्व चालिसेले ‘नेपाली रचना केशर पढेर हामीले शब्द भण्डार बढायौँ, ह्रस्वदीर्घको सवाई पढेर व्याकरणलाई कण्ठकण्ठ ल्याउन पायौँ’ भन्दै आफूलाई यो क्षणले सधैँ गौरवान्वित बनाउने बताए। परिषद्का कार्यवाहक अध्यक्ष रमा शर्माले यस वर्ष २०११ सालदेखि परिषद्सँग आवद्ध ज्येष्ठ सदस्य तथा कोषाध्यक्ष भीमबहादुर अधिकारीको निधन भएकाले उनकै सम्मानमा भीमबहादुर अधिकारी विशेषाङ्क प्रकाशन गर्न लागिएको बताए।
कार्यक्रममा परिषद्का कोषाध्यक्ष शङ्करप्रसाद पाण्डे, सदस्य सचिव लक्ष्मण थापा र सदस्य किरण थापाले पनि असीमले नेपाली साहित्यको विकासमा पुर् याएको योगदानका बारेमा बोलेका थिए। सो अवसरमा परिषद्को हाताभित्र स्थापित असीमको प्रतिमामा माल्यार्पण गरिएको थियो।