उद्धार उडान स्थगित गरिँदा ८० हजार नेपाली विदेशमा अलपत्र

काठमाडौँ। सरकारले कामदारको उद्धारका लागि गर्दै आएको चार्टर्ड उडान स्थगित गरेको छ। चार्टर्ड उडान स्थिगित गरेपछि घर फर्किन तयार भएका झण्डै ८० हजार नेपाली विदेशमा अलपत्र छन्।

विश्वका विभिन्न देशमा रहेका नेपाली राजदूतावासका अनुसार चार्टर्ड उडान रोकिएपछि नेपाली नागरिको बिचल्ली भएको छ। कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडान स्थगित गर्न सल्लाह दिएको थियो।

दूतावासका कर्मचारीहरुका अनुसार विदेशमा नेपालीहरु अन्योलमा छन्। उद्धार उडान रोकिएपछि उनीहरुलाई खान बस्न समस्या हुने भएको छ। सरकारले कामदारको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान स्थगित गरेको हो।

सोमबारको मन्त्रिपरिषद बैठकले दूतावासहरुको सिफारिसमा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्चेर दैनिक ५ सय जनाको उद्धार गर्ने निर्णय गरेको थियो। यसरी फर्किने कामदारलाई काठमाडौंमै ७ दिनसम्म राखेर पीसीआर गरेर मात्रै घर जान दिने निर्णय मन्त्रिपरिषदले गरेको थियो।

अन्य सम्बन्धित समाचार:  नेपालको अथतन्त्रको आकार बढेर ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुग्यो

तर सरकारले एक्कासी यसरी तय भएका उद्धार उडानहरु स्थगित गरेको छ। उद्धार गरिएकाहरुलाई राख्न होटल व्यवस्थापन नभएको भन्दै सीसीएमसीले नै मन्त्रालयलाई उद्धार उडान स्थगित गर्न सल्लाह दिएको बताइएको छ।

यूएई, कतार, मलेसिया, साउदी अरब, कुवेत, बहराइन, ओमान, लेबनानलगायत देशबाट नेपालीहरु ठूलो संख्यामा घर फर्किन खोजिरहेका थिए।