म्याग्दीको हिलबाङ खोला पहिरोले थुनियो

म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा पहिरो जाँदा हिलबाङ गाउँ हुँदै बग्ने ठाडो खोला थुनिएको छ। अर्मनको पाखु सामुदायिक वनबाट सोमबार पहिरो खस्दा ठाडो खोला थुनिएपछि खानिवास, कुर्सिला र खारापानी क्षेत्रमा जोखिम बढेको छ।

स्थानीयवासीलाई सतर्क रहन अनुरोध गरिएको मङ्गला–५ का वडाअध्यक्ष भुपेन्द्रबहादुर खत्रीले बताए। ‘माथि डाँडाबाट खसेको पहिरो खोलामा गएर थुप्रिएको छ, पहिरोले थुनिएको खोला एकैचोटि बग्न थाल्यो भने तल्लो क्षेत्रका गाउँहरुमा क्षति पुर्याउन सक्छ’ उनले भने।

यसैबीच पहिरोले थुनिएको हिलाबाङ खोलाको अवस्था बुझ्न स्थानीय जनप्रतिनिधिसहितको एक टोली पहिरो स्थलतर्फ गएको छ। वडाअध्यक्ष खत्रीको नेतृत्वमा गएको टोलीका अनुसार वनबाट खसेको पहिरोले थुनिएको खोलामा ठूलो पोखरी बनेकाले तल्लो क्षेत्रमा जोखिम बढेको छ।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक सुरु

पहिरो स्थलमा बाबियाचौरबाट प्रहरी टोलीसमेत गएको छ। खोला थुनिएपछि कुर्सिला र खारापानीका स्थानीय बासिन्दाहरु त्रसित छन्। साविकको अवस्थामा पानी नबगेसम्म तल्लो तटीय क्षेत्रका बासिन्दालाई जोखिम रहन्छ।