अख्तियारमा ओली, दाहाल र देउवाबीच भागवण्डा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीन पदाधिकारीमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भागवण्डाको सहमति भएको छ।

अख्तियारमा हाल दुई आयुक्तको पद खाली रहेको छ। यस्तै प्रमुख आयुक्त नविन घिमिरेले भदौ महिना भित्रै अवकास पाउन लागेका छन्। यसरी रिक्त हुने तीनवटै पदाधिकारीमा ओली, दाहाल र देउवाबीच आफू अनुकुलका एक, एक जना नियुक्त गर्न सोमबार बालुवाटारमा सहमति भएको श्रोतले बतायो।

अख्तियारलगायत अन्य संवैधानिक आयोगमा समेत रिक्त ४० पदमा नियुक्ति गर्नेबारे पनि तीनै जना नेताबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो।

छलफलमा ओली, देउवा र दाहालसँगै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ तथा कांग्रेस नेता रमेश लेखक सहभागी थिए। सरकार गठन भएको साढे दुई वर्ष बितिसक्दासमेत संवैधानिक आयोगमा पदाधिकारी नियुक्त हुन सकेको छैन।

अन्य सम्बन्धित समाचार:  प्रचण्डपछि ओलीलाई भेट्न बालुवाटार पुगे वामदेव

अख्यितार प्रमुखमा ओलीले पूर्व गृहसचिव प्रेम राईलाई प्रमुख आयुक्त बनाउने सोच बनाएका छन्। सबै आयोगमा भागवण्डा अनुसार नियुक्त गर्ने र नियुक्तिका लागि आवश्यक तयारी सकेर प्रधानमन्त्रीले छिट्टै संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ।