काठमाडौँ। नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।
नवलपरासीको सुस्ता पश्चिम घर भएका ३८ वर्षिय गिरीको ललितपुरको पाटन अस्पतालमा बुधबार बिहान निधन भएको हो। उपसभापति गिरी बुटवलको कोरोना अस्पतालबाट उपचार गराउन गत साउन ३० गते पाटन अस्पताल भर्ना भएका थिए।
उनको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । मंगलबार राति गिरीको श्वासप्रश्वासमा समस्या आएको थियो। बुधबार बिहान ६ बजे उपसभापतिको निधन भएको कांग्रेस नेता देवेन्द्रराज कंडेलले बताए।
उपसभापति गिरीको केही समय अघि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि श्वासप्रश्वासमा समस्या देखिएको थियो।
निमोनिया समेत देखिएपछि गिरीले पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको नेता कँडेलले बताए। बुटवलको कोरोना अस्पतालमा एक दिन उपचार गराए पछि उनलाई थप उपचारका लागि पाटन अस्पताल पुरयाइएको थियो।
फोरम लोकतान्त्रिकबाट कांग्रेस प्रवेश गरेपछि गिरी कांग्रेस नवलपरासीको उपसभापति भएका थिए।