अभिनेता आमिर खान विवादमा तानिए

एजेन्सी। टर्कीमा ‘लाल सिंह चड्ढा’ नामक भारतिय चलचित्रकाे छायाँकन चलिरहेको बेलामा बलिउड अभिनेता आमिर खान भने आफ्नै मुलुकमा विवादमा तानिएका छन्। साे चलचित्रकाे शुटिङका लागि टर्की पुगेका आमिरले राष्ट्रपति रेसेप तैय्यप एर्डोगानकी पत्नी एमिन एर्डोगानसँग भेट गरेपछि भारतमा उनको एकसाथ विरोध र समर्थन हुँदै गएकाे छ।

टर्कीले जम्मू काश्मिरको धारा ३७० खारेज गर्ने निर्णयको विरोध गरेपछि भारतसँग राम्रो सम्बन्ध छैन। यसैकारण राजनीतिक रुपमा दुई देशबीच सम्बन्ध उति राम्राे नभएका बेलामा मुश्लिम बाहुल्य राष्ट्रकी प्रथम महिलासँग भेटेपछि भारतका हिन्दुवादीले खानकाे आलोचना गरेका हुन्।

टर्कीका राष्ट्रपति एर्डोगानले काश्मिर मुद्दामा पाकिस्तानको साथमा रहेको र काश्मिरमा न्याय, शान्ति र सम्वादलाई समर्थन गर्ने बताएका थिए। जसमा भारतले आपत्ति जनाएको थियो।

केहीले भने आमिर खानको समर्थन गरेका छन्। कलाकार राजनीतिज्ञको हिसाबमा नलच्ने उनीहरुको तर्क छ। इजरायललाई समर्थन गर्ने तर टर्कीलाई राम्रो नमान्नेहरुले आमिरको आलोचना गरेको भन्दै बचाउ पनि भइरहेको छ। आमिर हाल ‘लाल सिंह चड्ढा’को शूटिंगमा व्यस्त छन्। यो फिल्‍म १९९४ मा प्रदर्शनमा टम हैंक्सको फिल्म ‘फरेस्ट गंप’ को रिमेक हो।