जोखिम मोलेर स्वाब ढुवानी गर्छन् प्रेम

 

भावना पाैडेल, डडेल्धुरा। 

डडेल्धुराको नवदुर्गा गाउँपालिकाको चामा स्वास्थ्य चौकीमा  जागिरे छन् प्रेम साउद। जसले हिलाम्य सडकमा जोखिम मोलेर केही दिनअघि ४७ जनाको स्वाव कोरोना परीक्षणका लागि सदरमुकामसम्म ल्याएका छन्।

जोखिम मोलेर  स्वाब संकलन गर्नु अनि त्यसलाई परीक्षण गर्ने स्थानसम्म लैजानु उनको दैनिकी झैं बनेको छ। जसले आफू भन्दा पनि माथि अरुको स्वास्थ्यलाई ध्यान दिएर काम गरिरहेका छन्।

हिलाम्मे सडक। त्यसमाथि जोखिम मोलेरै स्वाब ढुवानी गर्नु सामान्य काम हैन। कोरोनाका कारण संसारै त्रसित भईरहेको बेलामा उनको साहसिक कामको मुक्तकण्ठले प्रसंशा गर्दा पनि कम हुन्छ। 

देशमा कोरोना संक्रमणको जोखिम ह्वात्तै बढिरहेका छन्। मानिसहरुको मृत्युको संख्या रोकिन सकेको छैन। स्वास्थ्यक्रर्मिहरु ज्यान हत्केलामा राखेर नै काम गरिरहेका छन्। पहाडी क्षेत्रको त के कूरा शहरमै जनजीवन अस्तव्यस्त हुँदै गईरहेको समयमा बाध्यताले स्वाव संकलन गर्नु परिरेको छ प्रेम साँउदलाई।

कामकै सिलसिलामा कुटिनु पिटिनु मात्र हैन पहाडी जिल्लाका स्वास्थ्यकर्मीहरूले अनेकन समस्या झेल्नु पर्ने हुन्छ। हिलो, पहिरो र बाढी जस्ता प्राकृतिक प्रकोपको कारण त धेरैले ज्यान हत्केलामा राखेर काम गर्नुपरेको छ।

प्रेम मात्र हैन उनी जस्ता धेरै स्वास्थ्यकर्मी हिजोआज परीक्षणका लागि संकलन गरिएको स्वाब घाँटीमा झुण्डयाएर हिँड्नुपर्ने बाध्यताबाट मुक्त छैनन्।

संकलन गरिएको स्वाब राख्नका लागि गाउँपालिकामा आइस प्याक अथवा डिप फ्रिज नभएको र सबै स्थानमा स्वाब राख्न नसकिने हुँदा जोखिम मोलेरै भएपनि डडेल्धुरा अस्पताल पुर्याउनुपर्ने बाध्यता बनेको हो।

एकजना ल्याब असिस्टेन्टको भरमा नवदुर्गा गाउपालिकाका ५ वटै वडामा स्वास्थ्यकर्मी साउदले स्वाब संकलन गर्दै आएका छन्। गाउँपालिका सबै वडामा स्वास्थ्यकर्मी भएपनि नवदुर्गा गाउँपालिकाको स्थानीय भएको नाताले पनि उनी स्वाब संकलनका लागि सबै वडामा पुग्ने गरेको सुनाउँछन्। उनले भने ‘जागिर खाएको पनि ७-८ वर्ष भयो। नवदुर्गा गाउँपालिकाकै स्थानीय भएकोले सवै बडामा स्वाब संकलनका लागि सहयोग गरिरहेको छु।’

अन्य सम्बन्धित समाचार:  देशभर थप ९४ जनामा कोरोना संक्रमण पुष्टि

साउद कार्यरत नवदुर्गा गाउँपालिका ५ स्थित चामा स्वास्थ्य चौकीमा रहेपनि उनले केही दिनअघि हिलोमा जोखिम मोलेर बोक्दै गरेको स्वाब भने मणिलेक स्वास्थ्य चौकीमा संकलन गरिएको थियो।

बर्सातकाे समयमा हिलाम्मे सडकका कारण सबै ठाउँमा एम्बुलेन्स जान सक्ने अवस्था छैन्। त्यसकारणले पनि संकलन गरिएको स्वाबलाई समयअघि नै जसरी पनि डडेल्धुरा अस्पताल पुर्याउनुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीहरूको भनाई छ। ‘ मोटरसाइकल पनि हिलोमा फस्छ, अन्य व्यक्तिसँग सहयोग मागेर हिलोबाट निकाल्नु पर्छ। यो सबै काम मैले गाउँपालिकाभित्र कोरोना संक्रमण फैलिन नदिन गरिरहेको छु।’ 

उनले थपे, ‘१०-१२ वर्ष पहिले घर छोडेर कोही बसाइँ सरेका त कोही भारतमा नोकरी गरि उतै बसोबास भएका व्यक्ति पनि कोरोनाका कारणले गाउँ फर्किएका छन्। उनीहरूका घरहरू जीर्ण अवस्थामा रहेका छन्। अरुको घरमा बास बसाउँदा कोरोना संक्रमण हुने डर भएकाले पनि जतिसक्दो चाँडो स्वाब संकलन गरि परीक्षणका लागि पठाउने गरेका छौं।’

केही पहिले स्वाब संकलन गर्ने भनियो तर, पिपिसेट लगाएर स्वाब सङ्कलनका लागि तयार भएको थिएँ, तर प्रशासनले रोकेको हुँदा चित्त दुखेको गुनासो साउदले गरे।

क्वारेन्टाइन बसेको सात दिनपछि मात्रै कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने भन्ने जानकारी समयमै पाएनन् प्रेमले। उनले भने, ‘तर आजभोलि भने क्वारेन्टाइनमा ७ दिन पुगेका व्यक्तिहरुको मात्रै स्वाब संकलन गर्ने गरेका छौं।’

अन्य सम्बन्धित समाचार:  खोप लगाउने सङ्ख्या लक्ष्यभन्दा आधा कम

स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार नवदुर्गा गाउँपालिकामा ५८ जना संक्रमित छन्। जसमध्ये ५६ जना डिस्जार्च भइसकेका छन्। त्यहाँ सक्रिय संक्रमितको संख्या २ छ।