मन्त्री खतिवडाले गरे राजीनामा दिने घोषणा

काठमाडौँ। राष्ट्रिय सभा सदस्य पद गुमेसँगै अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले शुक्रबार मन्त्री पदबाट समेत राजीनामा दिने भएका छन्। उनले शुक्रबार बसेको मन्त्रिपरिषद बैठकमा अपराह्न सम्म राजीनामा दिने घोषणा गरेका हुन्।

सरकारको तर्फबाट मनोनयन हुने राष्ट्रियसभाको रिक्त एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई मनोनयन गर्ने नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को निर्णयपछि खतिवडाको राष्ट्रिय सभा सदस्य पद गुमेको हो। राष्ट्रिय सभामा यसअघि नेकपाले खतिवडालाई मनोनित गरेको थियो।

यसअघि फाल्गुन २० मंगलबार मध्यरातिबाट राष्ट्रिय सभा सदस्य पद स्वतः सकिने भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए। खतिवडाले मन्त्री पदबाट राजीनामा दिएको २४ घण्टा नबित्दै उनले पुनर्नियुक्ति पाएका थिए। प्रधानमन्‍त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई पुनः अर्थ र सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको थियो।

अन्य सम्बन्धित समाचार:  गगन थापाको प्रश्न– सभामुख कुन पार्टीको हो?