हेलिकप्टरबाट उद्धार गरिए पनि बचाउन सकिएन मजदुरको ज्यान

भोजराज जोशी, दार्चुला। दार्चुलामा सडक निर्माणमा संलग्न एक मजदुरको शुक्रबार साँझ ढुंगाले लागेर मृत्यु भएको छ।

मृत्यु हुनेमा ब्याश गाउँपालिका ५ धौलाकोटका ३७ वर्षीय दिवानसिंह धामी रहेका छन्। नेपाली सेनाले निर्माणको जिम्मा लिएको खलंगा तिंकर सडकखण्डअन्तर्गत घाटीबगरमा घोरेटो बाटो खन्दै गरेका धामीलाई भीरबाट खसेको ढुंगाले चोट लागेको थियो।

गम्भीर घाइते धामीलाई साढे सात बजेतिर नेपाली सेनाको हेलिकप्टरमा घटनास्थलबाट सदरमुकाम खलंगा ल्याइएको थियो। उनलाई तत्कालै गल्फैस्थित जिल्ला अस्पताल लगि उपचार थालिएको थियो।

धामीको केहीबेर अघि उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए। साढे पाँच बजे धामीलाई ढंगा खसेर चोट लागेपनि तत्काल उद्धार गरी खलंगा ल्याइएको दुर्गादल गुल्मका गुल्मपति विक्रमदेव थापाले बताए।

अन्य सम्बन्धित समाचार:  नेपाल विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिश

रात परेकाले उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर लैजान सकिएको थिएन। नेपाली सेनाले गत जेठ दोस्रो हप्तादेखि घाटिबगर क्षेत्रमा घोरेटो बाटो निर्माण गर्दै आएको छ।

सेनाले थालेको काममा स्थानीय बासिन्दाले मजदुरी गर्दै आएका छन्। नेपाली सेनाले महाकाली किनारमा कडा चट्टान फोेरेर पैदल हिँड्ने बाटो निर्माण गरिरहेको छ।

नेपालको कालापानी मुनिको छाङरु तथा लिपुलेक मुनिको तिंकर गाउँका बासिन्दा नेपालकै बाटो भएर आवत जावत गर्न नसकेपछि सरकारले पैदल बाटो तथा सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको हो।

पैदल हिँड्न पनि बाटो नहुँदा ती दुई गाउँका बासिन्दा हाल भारतीय बाटो प्रयोग गर्दै आएका छन्। कडा चट्टान भएको घाटीबगर क्षेत्रमा बाटो खन्न सेनालाई निकै सकस भइरहेको छ।